पशु बाँध्ने गोठको बाहिर पट्टि परालको गुन्द्रीमा हलचल नगरीकन सुतिरहेकी छन् प्यारालाइसेसले थलिएकी पतिराम सार्कीकी श्रीमती पुतली सार्की । गोठको भित्र पट्ति आगो निभेको अगेनो छ । अगेनोमा रहेको ओदान माथि एउटा रित्तो भाँडो राखिएको छ । गोठमा खाने अन्न केही छैन ।
बाहिर श्रीमतीको छेउमा विरामी श्रीमतीलाई कुरेर बसिरहेका छन् ६५ वर्षिय पतिराम सार्की । देख्दै आँखा रसाउने यो दृश्य म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेत गाउँको हो । सार्की दम्पत्ति १ महिनादेखि यस्तै अवस्थामा रहेका छन् । श्रीमती पुतली सार्की थलिएपछि पतिरामले क्रृण खोजेर पोखराको मणिपाल अस्पतालमा लैजानुभयो।
त्यहाँ ४५ हजार खर्च भयो तर श्रीमतीको स्वास्थ्यमा केही सुधार नभएपछि गाउँमा ल्याउनुभयो न ओत लाग्ने आफ्नो घर छ, न दुःखमा आड दिने कुनै आपm्नो सन्तान नै । सार्की दम्पत्ति एक अर्कालाई हेर्दै आँशु बगाउँदै बस्न बाध्य भएका छन् ।
‘डाक्टरले उपचार गर्न २ लाख रुपैयाँ लाग्ने बताएपछि पैसाको अभावमा नै श्रीमतीको उपचार गर्न सकेको छैन’ पतिराम सार्कीले भन्नुभयो । ‘विरामीलाई खुवाउने अन्न समेत छैन,मागेर ल्याएको अन्नले दुई दिन पनि पुग्दैन ।’
सुकम्वासी सार्कीले रात कटाउनका लागि अर्कैको गोठ पाए पनि श्रीमतिको उपचारका लाग्ने रकम नपाउँदा मृत्यु कुरेर बस्नु परेको बाध्यता सुनाउनुभयो । भएको एउटा छोराको पनि मृत्यु भएपछि ज्याला मजदुरी गरेर खर्च चलाइरहेको अवस्थामा अचानक श्रीमति विरामी भएपछि दिनभरी कुरेर बस्नु पर्दा ज्याला मजदुरी गर्न पनि नसकेको उहाँले बताउनुभयो । सार्कीको उपचारका लागि आर्थिक सहयोगको अभियान संचालनसंगै आवश्यक लत्ता कपडाको लागि पहल भैरहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेललेउनुभयो ।
उपचार र खानपानका लागि सहयोग जुटाउने अभियानमा छौं’ पौडेलले भन्नुभयो । यसैबीच सार्कीको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गर्ने जनाएको छ । बेदना र पीडामा छन पतिराम सार्कीका दम्पति । पतिराम भन्नुहुन्छ ‘प्यारालाइसेसले थलिएकी पत्नीलाई पशु चौपायाँ बाँध्ने गोठमा भोकै सुताएर मृत्यु कुर्नु पर्दा मेरो मन बेस्सरी रोएको छ । आफ्नो गरिबीलाई धिक्कार्दै,देउता पुकार्नु बाहेक मसंग अर्को कुनै उपाय छैन । मनकारी व्यक्तिहरुको सहयोगको पर्खाइमा छु । (रासस)

Leave a Reply