एजेन्सी । बालबालिकालाई पाँचवर्षको उमेरसम्म मोबाइल, टीभीलगायत स्क्रिनबाट टाढा राखि किताबमार्फत मात्र पढाउनुले तिनको दिमागी विकासमा ठूलो फाइदा पुग्ने पहिलोपटक एक अध्ययनले पुष्टि गरेको छ । यो रिसर्च स्कुल जान सुरु नगरेका बालबालिकाको मस्तिष्क विकासमा स्क्रिनले पुर्याउने अवरोध र किताबबाट पढाउँदाका फाइदाबारे ‘न्युरोबायोलोजिकल’ प्रमाण प्रस्तुत गर्न सफल पहिलो अध्ययन हो । यसमा स्कुल नगएका पाँचवर्ष मुनिका बालकलाई अभिभावकले किताबबाट पढेर सुनाउँदा तिनका दिमागमा हुने गतिविधिको स्क्यान गरिएको हो ।

जसमा रातो भागले भाषा र शिक्षा क्षेत्रमा मस्तिष्कको ‘ह्वाइट म्याटर’ व्यवस्थित रुपमा वृद्धि भइरहेको देख्न सकिन्छ । यसले ती बालकलाई स्कुल जान थालेपछि पढाइ र बुझाइमा ठूलो मद्दत गर्ने बताइएको छ । अर्कोतर्फ औसतमा दैनिक दुई घण्टा स्क्रिन हेर्ने बालकको स्क्यान गर्दा चाहिँ यसमा रहेको नीलो भागले स्कुलमा पढ्न थालेपछि आवश्यक पर्ने तिनै क्षेत्रमा ह्वाइट म्याटर अविकसित र अव्यवस्थित रहेको देखाएको छ ।

यी दुवै तस्बिर रिडिङ एण्ड लिटरेसी डिस्कभरी सेन्टर अफ सिनसिनाटी अस्पताल, अमेरिकाले गरेको हालैको अनुसन्धानबाट लिइएको हो । अनुसन्धानका प्रमुख डाक्टर जोन हुटन भन्छन्, “यसबारे ख्याल राख्न वास्तवमै धेरै महत्वपूर्ण छ किनकि कुनै पनि बच्चाको दिमागी विकास पहिलो पाँचवर्षमै सबैभन्दा तीव्र रुपमा भइरहेको हुन्छ ।” अध्ययनका लागि विशेष प्रकारको एमआरआइ प्रयोग गरिएको थियो जसलाई ‘डिफ्युजन टेन्सर इमेजिङ’ पनि भनिन्छ ।

यसैमार्फत् किन्डरगार्टेन सुरु नगरेका पाँचवर्ष भन्दा कम उमेरका ४७ स्वस्थ बालबालिकाको परीक्षण गरिएको थियो । हाम्रो मस्तिस्कको ‘ग्रे म्याटर’ मा शरीरलाई के गर्ने के नगर्ने भन्ने निर्देशन दिने ब्रेन सेल्स हुन्छन् ।

तिनले नै हाम्रो स्नायु प्रणालीसँग सेलहरुको सम्पर्क गराउँछ । र, शरीरका विभिन्न अङ्गसम्म दिमागको सम्पर्क गराउने क्षमताका लागि मस्तिष्कको ‘ह्वाइट म्याटर’ व्यवस्थित र बढ्दो हुनुपर्छ ।यसैले पनि संचार प्रणाली राम्ररी विकसित नहुँदा दिमागको प्रोसेसिङ गति कम हुन्छ र बच्चालाई नयाँ कुरा सिक्न र पढ्नमा कठिनाइ हुने गर्दछ । हुटोन भन्छन्, “बालबालिकाहरु जन्मदा अत्याधिक धेरै न्युरोनहरु सहित आएका हुन्छन् जुन एकदम खालि हुन्छ ।

यस्तोमा अभिभावकले उनीहरुसँग बोल्ने, उनीहरुलाई बोक्ने, बाहिर लैजाने, पढाउने, सिकाउने, नयाँ कुरा देखाउने लगायतका व्यवहारकै आधारमा तिनको न्युरोन विकसित भइरहेको हुन्छ ।”स्क्यान लिनुका साथै ती बालबालिकाहरुको बौद्धिक परीक्षा पनि लिइएको थियो । यसमा दैनिक एकघण्टा भन्दा लामो समय स्क्रिनमा बिताउने बच्चाको शैक्षिक क्षमता कमजोर देखिएको हो भने भावपूर्ण भाषा अपनाउनमा पनि असक्षम रहेको पाइएको थियो । त्यस्तै उनीहरुलाई लगातार वस्तुहरुको नाम भन्नमा पनि कठिनाइ भएको थियो । अर्कोतर्फ किताबमार्फत पढाइने बालबालिकाहरुले भने यस परीक्षामा धेरै राम्रो स्कोर प्राप्त गरेका हुन् । सीएनएन Source: baahrakhari.com

Leave a Reply