सागको उसुतर्फ म्याग्दीकी विन्दु पुन मगर फाइनलमा प्रवेश

१३औं दक्षिण एसियाली खेलकुद (साग) उसुतर्फ ७० केजी तौलसमूहबाट विन्दु पुन मगरले बंगलादेशकी खेलाडीलाई पराजित गदै फाइनलमा प्रवेश गरेकी छन् । मंगलबार काठमाण्डौमा सम्पन्न भएको खेलमा नेपालको तर्फबाट विन्दुले उत्कृष्ट खेल प्रर्दशन गदैं फाइनलमा प्रवेश गरेकी हुन् । उनले पर्सी भारतीयसँग स्वर्णपदकका लागि भिड्नेछिन् । नेपाली सेनामा कार्यरत म्याग्दी मंगला गाउँपालिका–२, बावियाचौरकी पुनमगरले स्वर्णपदकका लागि अभ्यास गरेको बताईन् ।

‘यसपटक स्वर्णपदक ल्याउने दाउमा छु,‘नेपालको पदक तालिकामा स्वर्णसँगै मेरो जीवनमा समेत अहिलेसम्मकै ठूलो सफलता हुनेछ’ उनले बेनीअनलाइनसँग भनिन् ।१२ सागमा उसुतर्फ रजत पदक जितेकी विन्दुले राष्ट्रिय खेलकुद अन्तरगत लगातार स्वर्ण पदक जितेकी छन् ।

कुनै समय कराँतेमा समेत उत्कृष्ट मानिने उनले विगत पाँचबर्षदेखि उसु खेलमा सहभागी छन् । निरन्तर अभ्यासका साथै दरिलो आत्मविश्वासका कारण खेलमा सफलता मिलिरहेको उनको भनाई छ । सागमा सहभागी हुने गरी सम्पन्न भएको छनौटमा समेत उत्कृष्ट खेल देखाउन सफल भएपछि नेपालले उसुमा विन्दुबाट स्वर्ण पदकको आशा गरेको छ । उसुमा अन्य देशको तुलनामा भारत बलियो मानिन्छ ।