म्याग्दीमा विविध कार्यक्रमसहित २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो (तस्विरसहित)

‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मङ्गलबार म्याग्दीको बेनीमा २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस–२०७६ मनाइएको छ । बेनी नगरपालिकाको सहयोग, अपाङ्ग सञ्जाल बेनी, बौद्धिक अपाङ्गता अभिभावक संघ, अपाङ्ग–बहिरा–नेत्रहिन संघ म्याग्दीको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित दिवस मनाइएको हो ।

दिवसको अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न १८ जना अपाङ्गहरुलाई सहायता सामग्री सहयोग गरिएको अपाङ्ग संघ म्याग्दीले जनाएको छ । अपाङ्ग ६ जनालाई सादा लठ्ठी, ५ जनालाई ह्वीलचियर, ४ जना दृष्टिविहिनलाई सेतो छडी र ३ जनालाई बैसाखी उपलब्ध गराइएको अपाङ्ग संघका जिल्ला सचिव सुरेन्द्र केसीले जानकारी दिए ।

कार्यक्रममा बौद्धिक अपाङ्गता र सुस्तश्रवण विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामा सहभागी तथा उत्कृष्ट स्थान हासिल गरेकोमा शिक्षा विकास तथा समन्वय इकाइले पुरस्कृत गरेको छ । उक्त सामग्री तथा पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले अपाङ्गता भएका व्यक्तिहरुलाई सबैले सहयोग र अवसर दिएमा समाज परिवर्तन गर्न सक्ने क्षमता रहेको बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मबल बलियो बनाएर अगाडि बढ्न सुझाव दिए ।कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईराला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, बेनी नगर कार्यपालिका सदस्य गोरी दर्जी, गैरसरकारी संस्था महासंघका जिल्ला उपाध्यक्ष अमर बानियाँ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, अपाङ्ग उत्थान समाज पर्वतका सचिव जमुना आचार्य र धौलागिरी मावि सिङ्गाका प्रधानाध्यापक डण्डपाणी सापकोटाले मन्तव्य राखेका थिए ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा व्यानर र प्लेकार्डसहित प्रभातफेरी ¥याली आयोजना गरिएको थियो ।