गलेश्वर मेलाः पुरुष भलिबल घतान र बास्केटबल दर्मिजालाई

बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरको खेलमैदानमा आयोजित वडास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधी बेनपा–९ घतानले हात पारेको छ ।

बालाचर्तुदशी पर्वको अवसरमा गलेश्वर शिव यूवा क्लवले आयोजना गरेको खेलमा सोझो सेटमा बागलुङ हरिचौरलाई पराजित गरेको हो । म्याग्दीमा भलिबलमा एकछत्र राज गरेको घतानका खेलाडीले लगातार दवावमा राखेका थिए।

जिल्ला, गण्डकी प्रदेशका साथै विभिन्न क्लवहरुबाट ब्यवसायीक खेल्ने खेलाडी समेत रहेको घतान गलेश्वरका खेलाडीले गतबर्षको प्रतियोगिताको बदला लिएका छन् ।

गतबर्ष बागलुङ हरिचौरसँग घतान पराजित भएको थियो ।त्यस्तै मंगलबार नै सम्पन्न भएको महिला भलिबलमा पोखराको माउण्ट एभरेष्ट आवासीय माविलाई अर्चलबोट तालिम केन्द्रले पराजित गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा अर्चल बोटले ३ सेट र माउण्टले २ सेट जित पारेको थियो ।

महिला भलिबल तिब्र प्रतिस्पर्धा भएपनि पुरुष खेल अपेक्षा गरे अनुसारको खेल नभएपछि दर्शक निराश भएका थिए । बागलुङलाई घतानले निरन्तर दवावमा राख्दै उपाधी जितेको थियो । बास्केट बलमा रघुगंगा गाउँपालिका–४ दर्मीजाले सोही गाउँपालिकाका वडा नं ३ पिप्लेलाई पराजित गरेको थियो ।

सोही अवसरमा प्रोड भलिबलमा पर्वत जिल्लाको कुस्माले रघुगंगा गापा–१ तिप्लाङ बाबा समुहलाई पराजित गरेको क्लवका सचिव दिवाकर बुढाथोकीले बताए । प्रतियोगितामा विजेतालाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसी, समाजसेवी बमबहादुर पुन, शसस्त्र प्रहरी म्याग्दीका प्रमुख प्रकाश माझी, गलेश्वर आमा समुहकी अध्यक्ष गौमायाँ गर्बुजा, क्लवका अध्यक्ष कुलप्रसाद गर्बुजा, प्रतियोगिताका मुल संयोजक रमेश पूर्जा पुनले सम्मान गरेका थिए ।

प्रतियोगितामा पुरुष भलिबलको विजेता, उपविजेतालाई क्रमश प्रथम पुरस्कार ८५ हजार, ४५ हजार, पुरुष बास्केटबल ५५ हजार, उपविजेतालाई ३५ हजार, महिला भलिबल ३५ हजार, उपविजेता २० हजार र पौढ भलिबललाई ३५ हजार र उपविजेता १५ हजार नगद, प्रमाणपत्र, मेडल र ट्रफीले सम्मान गरिएको थियो। प्रतियोगितामार्फत बचत भएको रकमलाई क्लवले संस्थागत तथा सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । सोही अवसरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले गलेश्वर आमा र रघुगंगा आमा समुहलाई ५५ हजार ५५५ नगद सहयोग हस्तान्तरण गरिएको थियो ।