बागलुङ दुर्घटनाका घाइतेहरुलाई लिन पुगे पूर्वमन्त्री गोकर्ण बिष्ट

बागलुङ दुर्घटनाका गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।दुर्घटनामा घाइते भएका नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई उपचारका लागि काठमाडौैं ल्याइएको हो । घाइतेहरुलाई लिन पूर्वमन्त्री गोकर्ण विष्ट हेलिकोप्टर लिएर बडिगाड पुगेका थिए ।

बागलुङ बडीगाड– ७ को कोप्चेमा आज जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरु अधिकांश गुल्मीका रहेका छन् । मन्त्री बिष्टले घटनाबारे सुन्ने बित्तिकै घाइतेलाई उद्दार गर्न तत्परता देखाएका थिए । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । जीपमा १८ जना सवार थिए ।