सामाजिक सुरक्षा भत्ताले अपांगता भएका व्यक्तिकाे दैनिकी सहज

हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै हुनुहुन्थ्यो, आशिष रायमाझी ।

लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहनुभएका उहाँले छोरीका लागि रातो जामा खरिद गर्नुभयो । लुगा खरिद गरेपछि खुसी देखिनुभएका रायमाझी साङ्केतिक भाषामा भन्नुहुन्छ, “म बहिरा भए पनि खुसी छु । मलाई विचरा भनेर सान्त्वना दिनु पर्दैन । हातखुट्टा बलिया छन् । परिवारको रेखदेख र खुसी राख्न सक्ने क्षमता मसँग छ ।” उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताले हामीजस्तालाई सहज बनाएको छ । अझ पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यो पैसाले कसैसामु हात फैलाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।”

अहिले सञ्चार तथा प्रविधिले हामीलाई पनि देश विदेशसँग जोडेको र आफूले विदेशमा रहेका साथीसँग सजिलै भिडियो कल गर्ने गरेको अनुभव रायमाझीले बताउनुभयो । विद्यालयमा छोरीलाई केही प¥यो भने पनि शिक्षकहरू भिडियो कल गर्नुहुन्छ भन्दै रायमाझीले भन्नुभयो, “त्यस बेला मलाई पनि आफू अपाङ्गता भएको व्यक्तिजस्तो लाग्दैन ।”

अष्टलक्ष्मी जोशी पनि बोल्न र सुन्न सक्नुहुन्न तर पनि सौन्दर्य व्यवसायमा आबद्ध हुनुहुन्छ । २५ वर्षदेखि यस व्यवसायमा आबद्ध उहाँ आफूप्रति गर्व गर्नुहुन्छ । साङ्केतिक भाषामै बोल्नुपर्छ । कसैले भने बुझ्दैनन् त्यस्तो अवस्थामा लेखेर बुझाउनुहुन्छ । ग्राहकको हाउभाउले नै के गर्ने भन्ने बुझिन्छ । उहाँ भन्नुहुन्छ, “मानिसमा आँट र जाँगर चाहिन्छ, जे काम पनि गर्न सकिन्छ । ग्राहकहरूले मलाई फोनमा सम्पर्क गर्छन्, त्यो बेला धेरै खुसी लाग्छ ।”

‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ नाराका साथ मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव पशुपति महतले अपाङ्गतामैत्री राज्य बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो ।

२०६८ सालको जनगणनाअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या साढे पाँच लाख छ । सामाजिक सुरक्षा भत्ताले अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाह सहज भएको बुझाइ महतको छ । यो खबर आजको गाेरखापत्रमा छ ।