गलेश्वरमा खेलकुद प्रतियोगिताको विभिन्न चरणका खेल सकिए

बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वर बजारमा आयोजित खेलकुद प्रतियोगिताको आइतबार विभिन्न खेल सम्पन्न भएको छ । बालाचर्तुदशी पर्वको अवसरमा गलेश्वर शिव यूवा क्लवले आयोजना गरेको वडास्तरीय भलिबल खेल पुरुष तर्फको खेलमा राखु भगवतीलाई हराउँदै बागलुङ हरिचौर, पिप्ले ‘ए’ लाई हराउँदै घतान जुनियर टिम, पुलाचौरलाई हराउँदै दाना र घतान गलेश्वर ‘ए’ सेमिफाइनलमा प्रवेश गरेका छन् । कुस्मा अनुपस्थित भएपछि घतान गलेश्वर खेल मै सहभागी नभई सेमिफाइनमा प्रवेश गरेको हो ।

पुरुष भलिबलको सोमबार हुने सेमिफाइनलमा ‘ए’ पोलबाट गलेश्वर ‘ए’ र दानाले प्रतिस्पर्धा गर्नेछन् भने घतान जुनियर भलिबल टिम र बागलुङ हरिचौर प्रस्तिपर्धा गर्ने स्थानीय समेत रहेका रेफ्रि संयोजक तेजेन्द्र बानियाँले बताए । खेलकुदसँगै सामाजिक कार्यक्रममा सक्रिय रहेको क्लवले धार्मिक पर्वको अवसरमा आयोजित बास्केट बलमा दर्मीजा र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै महिला भलिबलतर्फ माउण्ट एभरेष्ट आवासीय मावि र अर्चलबोट तालिम केन्द्र फाइनलमा प्रवेश गरेको क्लवका सचिव दिवाकर बुढाथोकीले बताए ।

उनका अनुसार प्रतियोगिता अन्तरगत सञ्चालित प्रोड भलिबलमा कुस्मा पर्वत र कालिगण्डकी बाबा समुह तिप्लाङ फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा पुरुष भलिबलको प्रथम पुरस्कार ८५ हजार, पुरुष बास्केटबल ५५ हजार, महिला भलिबल ३५ हजार र पौढ भलिबललाई ३५ हजार नगद सहित विभिन्न विधाका पुरस्कार वितरण गरिने क्लवका अध्यक्ष कुलप्रसाद गर्बुजाले बताए ।

प्रतियोगितामार्फत बचत भएको रकमलाई क्लवले संस्थागत तथा सामाजिक कार्यमा खर्च गर्ने गलेश्वर बजारमा सक्रिय रहेको यूवा क्लवले पर्वको अवसरमा आगामी मंसिर ८ देखि १५ गतेसम्म नगर तथा वडास्तरीय भलिबल, पुरुष बास्केटबल र पौढ भलिबल प्रतियोगिता गर्ने संयोजक रमेश पूर्जा पुनले बताए । प्रतियोगिताको फाइनल सहित समापन कार्यक्रममा मंगलबार राखिएको छ ।