नवीन शिशिर
बागलुङ, १४ मंसिर ।
बागलुङको क्षेत्र नम्बर–२ (ख) मा गण्डकी प्रदेशसभा र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।शनिबार विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिए ।उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएको थियो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता रहेको थिए ।मतदान कार्यक्रम सकिए लगतै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम सुरु भएको छ ।

शनिबार राती अवेरसम्म मतपेटीका संकलन भएपछि आईतबार विहानदेखि मतगणता सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकृत पौडेलको भनाई छ । ‘अहिले मतपेटीका संकलनको काम सुरु भएको’ उहाँले भन्नुभयो–‘सर्वदलिय बैठकले मतगणताको समय निश्चित गर्ने छ ।’प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।

उता, बडिगाड–२ मा भएको वडाध्यक्ष निर्वाचनमा एक हजार ७४२ मतदाता मध्ये एक हजार १३४ मत खसेको छ । वडाध्यक्षको मतगणता शनिबार राती ८ बजेदेखि बडिगाड गाउँपालिकाको सभाहलमा हुने पत्रकार कमल पौडेलले जानकारी दिनुभएको छ । राती १२ बजेसम्म वडाध्यक्षमा मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

वडाध्यक्षमा नेकपाकाको तर्फबाट ढलप्रसाद सेरचन ‘ढालेन्द्र’, काग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका थिए । मतदानको अघिल्लो दिन शुक्रबार विशेष गरी संयुक्त बामगठबन्धन र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोपको घटना भए पनि मतदानको दिन शनिबार कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एपी नवराज भट्टले बताए ।

जिल्ला प्रहरी प्रमुख भट्टले उपनिर्वाचन शान्तिपूर्ण समपन्न गर्न सहयोग गर्ने सबैलाई सामाजिक सञ्जाल फेसबुक मार्फत आभार व्यक्त गरेका छन् । ‘चुनाव शान्तिपूर्ण सम्पन्न भयो–उनले भने–‘सबै राजनीतिक दल र मतदाताको संयमताले हार्दिकतापूर्वक उपनिर्वाचन सकिएको छ ।’ निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा रहेको थियो ।

Leave a Reply