समाजसेवी हरिकृष्ण श्रेष्ठ मोना जापानद्वारा टोकियोमा सम्मानित

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले जिल्लाका चिरपरिचित ब्यवसायी एवं समाजसेवी हरिकृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बीच टोकियोमा सम्मान गरेको छ ।छोटो निजी भ्रमणका क्रममा जापान आएका श्रेष्ठ र जापान भ्रमणमै रहनुभएका जिल्लाका अर्का समाजसेवी भक्तबहादुर बानियाँलाई मंगलवार साँझ टोकियोमा भेटघाटसहितको एक कार्यक्रममा स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले घरदेश र परदेशलाई जोड्न मोनाले खेल्दै आएको भूमिका सह्रानीय रहेको बताउनुभयो । संसारभर छरिएर रहेका म्याग्देलीहरुलाई एकैसूत्रमा आबद्ध गरी आफ्नो माटोका लागि निरन्तर क्रियाशील बनाउन मोनाले यथासंभवका प्रयासहरु गर्दै आएको विचार ब्यक्त गर्दै श्रेष्ठले मोनाद्वारा जिल्लामा देखिने गरी योगदानहरु भईरहेको बताउनुभयो ।

नेकपा म्याग्दीका सचिव समेत रहेका नेता श्रेष्ठले जापानमा बस्ने म्याग्देलीहरुसंग भेटघाट एवं भलाकुसारीसहित मित्रताको पुनर्ताजगी गर्ने अवसरका लागि मोना जापानप्रति आभार व्यक्त गर्नुभयो ।नेता श्रेष्ठ र बानियाँको स्वागतमा आयोजित रात्रीभोजसहितको सो भेटघाट एवं सम्मान कार्यक्रममा मोनाको केन्द्रीय समिति र मोना जापानमा आबद्ध पदाधिकारी, सल्लाहकार, कार्यसमितिका सदस्यहरु लगायत म्याग्देलीहरुको उपस्थिति रहेको थियो।

महासचिव गणेश श्रेष्ठको सहजीकरण रहेको सो कार्यक्रममा नेता श्रेष्ठ र बानियाँलाई खादार्पण गरी स्वागत तथा सम्मान गरिएको थियो ।विगत लामो समयदेखि जिल्लाको राजनीति तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रही पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको मोना जापानले जनाएको छ Source: samudrapari.com