पढाई सुधार्न विद्यालयमा अक्षय कोष

यहाँको एक गाउँपालिकाले बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि विद्यालयमा अक्षयकोष स्थापनाको अभियान सुरू गरेको छ । पश्चिम म्याग्दीमा पर्ने मंगला गाउँपालिकाले विद्यालयलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न माध्यमबाट आर्थिक संकलन गरी हरेक विद्यालयमा न्युनतम ३ लाखदेखि सहयोग जुटाउन सक्ने सम्मको अक्षय कोष स्थापनाको अभियानलाई तिब्रता दिएको हो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको पहलमा मंगला–५, स्थती सारदा आधारभुत विद्यालय छिस्वाङमा यूके निवासी बेलबहादुर बुढाले १ लाख, राम बहादुर केसीले ५० हजार सहयोग गरेको थिए। आर्थिक रुपमा कमजोर विद्यालयमा नीजि स्रोतका शिक्षकको तलब, शैक्षिक सामाग्री सहित आवश्यकता अनुसार बालबालिकालाई पोशाक, छात्रबृत्ति दिने गरी कोष स्थापनाको अभियान सुरु गरेको अध्यक्ष रोकाले बताए ।

‘विद्यालयको गुणस्तरीय शिक्षाका लागि कोषको आवश्यकता देखिएको छ,‘प्रवासमा रहनुभएका साथीहरूमार्फत सहयोग जुटाउन थालेको छु’ रोकाले भने ।केहीमहिना अगाडी पारिवारिक भेटघाटमा यूके पुगेका रोकाले त्यहाँ रहेका म्याग्देली सहित नेपालीलाई आफ्नो गाउँपालिकाको सम्रग जानकारी गराएका थिए ।विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धि सहितका अभियानमा अक्षयकोषको प्रयोग गर्ने विद्यालयका प्रधानाध्यापक खगेन्द्र सापकोटाले बताए ।

गाउँपालिकाले ५ वटै वडामा बालबालिकाको क्षमता बिकासका लागि हरेक साता अतिरिक्त क्रियाकलाप, नियमित पुस्तकालयको प्रयोग, शैक्षिक गतिविधि केन्द्रित प्रतिस्पर्धा, भित्ते पत्रिका प्रकाशन, कम्प्यूटर शिक्षा लगाएतका कार्यहरुलाई प्राथमिकता दिएको गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँले बताए ।

उनले गाउँपालिका अध्यक्ष ब्यक्तिगत सम्बन्ध मार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सहयोग जुटाइरहेको बताए ।यसैबीच पश्चिम म्याग्दीमा एकमात्रै मंगला शिक्षा क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि बेलबहादुर पुनले १ लाख र सरस्वतीको मन्दिर निर्माणमा ८० हजार सहयोग गरेका छन् ।