बालाचर्तुदर्शीमा गलेश्वरधाम मन्दिरको भेटी पाँचलाख बढी

प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरमा बालाचर्तुदशी पर्वमा ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा सोमबार आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना शतबिज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको ५ लाख २६ हजार १२३ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताए ।

उनका अनुसार सोमबार बालाचर्तुदशी मेलामा भक्तजनले मन्दिर भित्र विभिन्न स्थानमा चढाएको भेटी संकलन गरी मंगलबार विहानैदेखि मन्दिर परिसरमा कोषका पदाधिकारी, प्रहरी लगाएत स्थानीयको उपस्थितीमा सार्वजनिक गरिएको बताए ।यसबर्ष भक्तजनको अत्याधिक भिड रहेको थियो ।

मन्दिरमा दर्शन गर्न जिल्लाका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएत विभिन्न स्थानबाट भक्तजनहरु आएका थिए । गलेश्वर मन्दिरमा साउने सोमबार,शिवरात्रीमा समेत दर्शनार्थीको घुईचो लाग्ने गरेको छ । शिवरात्री र साउने सोमबारमा दर्शन गर्न आउने भक्तजनभन्दा धेरै बालाचर्तुदशीमा आउने गरेको अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।

हरेक महिनाको १५ गते र ठूला पर्वहरुमा भोलीपल्ट नै गन्ने गरिन्छ ।मुल मन्दिरमा भक्तजनले चढाएको सुन देखी नगदसम्म पुजारीको पहुँच, जलबराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपासका क्षेत्रमा रहेका शालग्राम सहित हिन्दु धर्मालम्बीले पुजाआजा गर्न ठाउँमा चढाइएको भेटीलाई संकलन गरी मुचुल्का गरी प्रहरीकोमा र चाबी कोषले राख्ने गर्दछ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।