‘गौमहोत्सव’लाई सहकारीले १० लाख सहयोग

एक सहकारीले स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने लागेको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवमा १० लाख सहयोग गरेको छ । पर्वत जिल्लाजलजला गाउँपालिका वडा नं ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले गाउँमै आयोजना हुन लागेको महोत्सवमा उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सहकारीले ११ औं वार्षिक साधारणसभाबाट सहकारीकर्मीको सक्रियतामै गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञमा साधारणसभाबाटै एकदिनको सभानायक बन्ने गरी सहयोग गरिएको सहकारीका प्रबन्धक टेकनारायण आचार्यले बताए ।

‘समुदायका अभियानमा सहकारीले समेत सहयोग गर्नुपर्छ,‘भविस्यमा पनि सहकारीले थप सहयोग गर्नेछ’ आचार्यले भने । आगामी मंसिर १९ देखि २६ गतेसम्म गरिने महायज्ञमा गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । हिन्दु धर्मावलम्बीहरुको लागि गाई जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिने भएपनि लोप हुन लागेकाले संरक्षणमा सहकारीको सहयोग अहिलेसम्मकै ठूलो भएको मुल आयोजक समितिका संयोजक राजुप्रसाद आचार्यले बताए ।

उनले मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको र गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएकाले पनि नयाँ पुस्तालाई जानकारी दिन समेत सहज हुने बताए । यसैबीच साधारणसभाको जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले उद्घाटन गरेका थिए । उनले वित्तिय कारोबार बाहेक समुदायमा आधारित भएर सामाजिक तथा उत्पादनमुखी क्षेत्रमा सहुलियतमा कर्जा उपलब्ध गराउन समेत सहकारीले भूमिका खेल्नुपर्ने बताए ।

उनले निम्न आर्थिक अवस्था भएकालाई सहकारीमार्फत कर्जा प्रवाहमा प्राथमिकता दिनुपर्ने बताए । गत आर्थिक वर्षमा दुई करोड ९२ लाख ४७ हजार चारसय ९८ रुपैयाँ लगानी रहेको सहकारीको चुक्ता पुँजी एक करोड ४५ लाख ५८ हजार पाँचसय रहेको सहकारीले जनाएको छ । सहकारीले सदस्य एवम् परिवारका सदस्य बिरामी हुदा आपतकालीन कर्जा ,सदस्य किरिया बस्ने गरी आफन्तको मृत्युमा ५००० आर्थिक सहयोग लगायतका सामाजिक सेवामुलक कार्यहरु समेत सञ्चालन गरेको छ ।