म्याग्दीबाट सबैभन्दा बढी आयकर तिर्ने न्यू धौलागिरि सहकारी सम्मानित

आठौँ राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजस्व कार्यालय बागलुङले सदरमुकाम बेनीमा सञ्चालित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था सहित साविकको धौलागिरी अञ्चलका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

कर दिवसको समापन कार्यक्रमको अवसरमा म्याग्दीबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा धौलागिरी सहकारी, बागलुङबाट सिवाईसी बचत तथा ऋण सहकारी, मुस्ताडबाट अमित विल्डर्सका प्रोपाईटर सांसद प्रेम प्रसाद तुलाचन, पर्वतबाट जनसेवी लघुबित्त बित्तिय संस्था सम्मानित गरेको कर अधिकृत बुद्धि आचार्यले बेनीअनलाइनलाई बताए । उनका अनुसार स्वयम घोषित करबाट उक्त संस्था सम्मानित भएको बताए । सोही अवसरमा उत्कृष्ट कार्य गरे बापत आन्तरिक राजश्व कार्यालयका कर्मचारी शालिकराम सापकोटा समेत सम्मान गरिएको थियो ।

“स्वच्छ कर प्रशासन विकास र सुशासन भन्ने मुल नाराका साथ आयोजित दिवसको समापन कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत पोखरा बाग्लुड. का न्यायधिस मोहनबहादुर कार्की, जिल्ला अदालत बाग्लुडका न्यायधिस बासुदेब न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रियसदस्य निर्माण कुमार श्रेष्ठ,म्याग्दी उवासंघका अध्यक्ष उत्तम कर्माचार्य, बाग्लुड. उवा संघका प्रथम उपाध्यक्ष राजन शाक्य,पर्वत उवा.संघका अध्यक्ष केदार शर्मा, म्याग्दी उवासंघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगाएत बिभिन्न संघसंस्था तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

समापन समारोहमा सम्मानित संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा सहित मन्तव्य व्यक्त गरेका थिए । आन्तरिक राजश्व कार्यालय बाग्लुड. का प्रमुख हेमराज सुबेदीको सभापत्विमा आयोजित कार्यक्रममा करदातालाई प्रोत्साहनलाई प्राथमिकता दिइएको बताइएको थियो ।

वित्तिय र सामाजिक कार्यमा धौलागिरी सहकारी

आन्तरिक राजश्व कार्यालयबाट सम्मानित भएपछि सहकारीका अध्यक्ष लिला बहादुर बानियाँले सहकारीले वित्तिय कारोबारसँगै सामाजिक उत्तरदाहित्व अन्तरगतका क्षेत्रमा समेत उत्तिकै प्राथमिकता दिएको बताएका छन् । उनले आर्थिक कारोबार बाहेक बर्षेन गरिबीका कारण शिक्षाबाट बन्चित भएकालाई सहयोग सहित विभिन्न क्षेत्रमा सहयोग गरेको बताए ।

म्याग्दी जिल्लामा रेमिट्यान्स सहित आर्थिक कारोबारमा सबैभन्दा ठूलो सहकारीको रुपमा समेत चिनिएको धौलागिरी सहकारीको लगानीमा जेहेन्दार विद्यार्थीले मावि, स्नातक र ईन्जिनियरसम्म निशुल्क शिक्षामा समेत लगानी गरेको छ । बार्षिक सहयोग अन्तरगत मावि र क्याम्पस तहमा अध्ययरत विद्यार्थी सहित सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ । सहकारीले बार्षिक करिव ३ लाखसम्म सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ ।