धवलागिरीको सातौ गाउँसभाबाट नियमावली र ऐन पारित, बजेट बाँडफाँड

धवलागिरी गाउँपालिकाको शनिबार सम्पन्न सातौ गाउँसभाबाट २ नियमावली र ९ ऐन पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न गाउँसभाबाट विनियोजित बजेट, ऐन तथा नियमावली पारित गरिएको हो । गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाबाट सार्वजनिक खरिद नियमावली–२०७६, विधायन समिति सञ्चालन नियमावली सहित ९ वटा ऐन समेत पारित गरिएको छ ।

गाउँसभाबाट न्यायिक ऐन, कृषि ब्यवसाय प्रर्बधन ऐन, विपद् जोखिम न्यूनिकरण ऐन, पूर्वाधार ब्यवस्थापन ऐन, स्थानीय कर्मचारी ऐन, शिक्षा ऐन, सहकारी ऐनको पहिलो सशोधन, वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐन र स्वास्थ्य विधेयक सर्वसम्मतिले पारित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभामा गत आवको कल्या रु ४ करोडलाई विभिन्न योजनाहरुमा विनियोजन गरिएको छ ।

विधान समितिका संयोजक वडा र्न १ का अध्यक्ष एवम् प्रबक्ता झकबहादुर छन्त्यालको तयार गरेको विधानलाई सदस्य देउप्रसाद छन्त्यालले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव पारित भएसँगै कार्यान्वयनमा सहज भएको छ । यसैबीच गाउँसभाले गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त १ करोड र जिल्ला समन्वय समितिमार्फत स्थानीय तहलाई विनियोजन गरिएको मध्ये गाउँपालिकालाई प्राप्त ६० लाखलाई समेत दुईवटा योजनामा विनियोजन गरिएको छ ।

१ करोडबाट मुनामा स्वास्थ्य चौकी भवन र ६० लाखलाई लुलाङको वडा कार्यालय बनाउने निर्णय भएको गाउँपालिका प्रबक्ता छन्त्यालले बताए । दुवै पूर्वाधारमा समपुरक कोषको समेत ब्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष पुनले गाउँपालिका भित्रका योजनालाई समयमै सम्पन्न सहित प्राथमिकताका आधारमा सक्रिय हुन जनप्रतिनिधिलाई अनुरोध गदैं गाउँसभाबाट पारित एजेण्डालाई प्रभावकारी कार्यान्वन गरिने बताईन् । file photo