गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवमा रक्तदान (फोटो/भिडियो)

गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत सङ्कलन भएको छ । बैंकले १३ औं वार्षिकोत्सवको अवसर पारेर म्याग्दीको बेनीमा गरिएको रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणसहित ५१ जनाले रक्तदान गरेका थिए ।

बैंकका सञ्चालक डाक्टर भूपेन्द्रबहादुर खड्काले गरिमाले वित्तिय कारोबार बाहेक सामाजिक उत्तरदाहित्व अन्तरगत धेरै सहयोग गरेको बताए । उनले म्याग्दीमा गरिमामार्फत वित्तिय साक्षरता, विद्यालयमा शैक्षिक साम्रागी, कम्युटर सहयोग सहित विभिन्न कार्यमा सहयोग गरेको बताउँदै भविस्यमा थप प्रभावकारी बनाउने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान उपाध्यक्ष प्रमोद श्रेष्ठ, पूर्व सञ्चालक समिति सदस्य शिव कटुवाल, माधवप्रसाद रेग्मी, अमित बानियाँ, सुविन श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, यजनलाल शाक्य, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम लगाएतको उपस्थिती रहेको थियो । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित रक्तदान सहित विभिन्न कार्यक्रम गर्ने गरेको बेनी शाखा प्रवन्धक कमलप्रसाद ढुङ्गानाले बताए ।

उनले हरेकबर्ष ग्रामिण क्षेत्रमै पुगेर समुदायमा आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्ने गरेको बताए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजक सुरत केसी लगायतले प्राविधिक सहयोग गरेका थिए । म्याग्दी जिल्लामा सङ्कलन गरिएको अधिकांश रगत पोखरा पठाउने गरिएको छ ।

गरिमाको देशका विभिन्न ११ स्थानमा गरिएको रक्तदानमा काठमाण्डौपछि सबैभन्दा धेरै म्याग्दीमा पिन्ट रगत संकलन गरिएको छ । रक्तदानमा म्याग्दीका साथै धवलागिरी क्षेत्रको पर्वत र बागलुङका शाखाबाट समेत कर्मचारीहरु आएका थिए ।गरिमाको हाल देशभर ९० ओटा शाखा सञ्चालनमा रहेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । दुई अर्ब ७५ करोड चुक्ता पुँजी रहेकोमा बैंकले गत ३६ अर्ब निक्षेप सङ्कलन गरी ३१ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।