नेपाली सेनाले भीरमा अड्किएकी महिलालाई यसरी जोगायो

भिरबाट हाम फालेकी एक महिलालाई नेपाली सेनाको सहयोगमा ज्यान जोगिएको छ । मानसिक सन्तुलन गुमाएकी बेनी नगरपालिका वडा नं ५ पुलाचौरको भीरबाट हाम फाल्दा रुखको हांगामा अड्कीएकी एक महिलाको नेपाली सेनाले उद्धार गरेको छ ।

चिप्लेटीकी ४८ बर्षिया औमाया किसानले सांग्ला भिरबाटहाम फाल्दा १०० मिटर तल भिरको बिचमा रहेको रुखमा अड्कीएको अवस्थामा श्रीबक्स गुल्मका सेनानी सुरेश देवकोटाको कमाण्डमा गएको टोलीले किसानलाई सकुशल उद्धार गरेको हो ।

भिरको रुखको हाँगामा अड्किएको अवस्थामा फेला पारेपछि बिहिबार साँझ ५ बजे प्रहरीमार्फत नेपाली सेनाको सहयोगमा उद्धार गरिएको स्थानीयले बताएका छन् । नेपाली सेना र प्रहरीले डोरीको सहायतामा जोखिम मोलेर करिव १ सय मिटर तलबाट निकालेका थिए । ‘सेनाले ज्यान जोखिममा राखेर उद्धार गर्नुभयो,‘उहाँहरुले करिव आधाघण्टाको प्रयासमा महिलालाई निकाल्नुभएको थियो’ एक स्थानीयले भने ।

गुल्मीका सेनानी देवकोटाको कमाण्डमा रहेको टोली राती ७ बजे उक्त भिरमा पुगेर महिलाको सकुशल उद्धार गरेको देवकोटाले बताए । उद्धार गरिएकी महिलाको दाहिने हातमा सामान्य चोट लागेको र महिलालाई परिवारको जिम्मा लगाईएको छ । मानसिक कमजोरी भएकी महिलालाई उपचार तथा नियमित निगरानीमा राख्न समेत प्रहरीले सुझाव दिएको छ । तस्वीर सौजन्य पत्रकार अनिल पौडेल