बालबालिकालाई कपडा वितरण (फोटोफिचर)

म्याग्दीको सदरमुकाम बेनीमा ३०औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ। बेनी नगरपालिकाको आयोजना, कपडा तथा फेन्सी व्यवसायी समिति बेनी म्याग्दी र सिविन नेपाल म्याग्दीको सह–आयोजनामा विभिन्न कार्यक्रम गरेर बाल अधिकार दिवस मनाइएको हो ।

कार्यक्रमको अवसरमा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाबाहेक अन्य ८ ओटा वडाका ७० जना बालबालिकाहरुलाई कपडा वितरण गरेको जनाएको छ । समितिले बेनी नगरपालिकासँगको समन्वयमा अति विपन्न तथा दलित समुदायका बालबालिकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा मौसम अनुकुल हुनेगरी ज्याकेट, ट्¥याकसेट र स्वीटरहरु वितरण गरेको हो ।

कपडा तथा फेन्सी व्यवसायी समितिले बेनीबजारका विभिन्न फेन्सी पसलहरुबाट जाडोका लागि न्यानो कपडा सङ्कलन गरी बालबालिकाहरुलाई वितरण गरिएको सचिव दामोदर शर्माले बताए । उक्त कपडाहरु समितिका अध्यक्ष रवीप्रसाद शर्मा, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बालबालिकालाई वितरण गरेका थिए ।

बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, अर्थुङ्गे घतान र पात्लेखेतका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराइएको छ । यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चेतनाथ चापागाईंले विगत ३ वर्षको अवधिमा म्याग्दी जिल्लामा बाल अधिकारसम्बन्धी घटनाहरुको विषयवस्तुमा आधारित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

पछिल्लो समय म्याग्दीमा बालबालिकाको अधिकार उल्लङघन, यौन तथा शारिरीक शोषणसम्बन्धी विभिन्न घटनाहरु बढ्दै गैरहेको तथ्याङ्कले देखाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विनोद केसीले जारी संविधानमा व्यवस्था गरिएको ऐन, कानुनहरुको कार्यान्वयन र पालना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले बच्चा जन्मेपछि उसको पालनपोषण, शिक्षादिक्षासहित सम्पूर्ण अधिकारको ग्यारेन्टी स्वयं अभिभावकको भएकोमा जोड दिँदै बाल अधिकारको रक्षा गर्दै जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले परिवर्तित सन्दर्भमा नेपाली जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले आफ्नो सेवा क्षेत्रभित्र जोखिम अवस्थामा रहेका बालबालिकाहरुको उद्दारमा क्रियाशिल हुनुपर्ने धारणा राखेका थिए ।

प्रजिअ ज्ञाननाथ ढकालले बाल अधिकारसम्बन्धी विभिन्न सन्धी तथा सम्झौताहरुको कार्यान्वयनका लागि बालमैत्री पूर्वाधार एवं संरचना निर्माण र वातावरण बनाउनका लागि जोड दिनुपर्ने बताए । उनले बालअधिकार संरक्षणमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै भौतिक संरचनाहरु निर्माण गर्दा बालमैत्री बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–८, का वडा अध्यक्ष रामकृष्ण बराईली र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाका उपसचिव प्रकाश रेग्मीले बालअधिकार संरक्षणमा जोड दिएका थिए । बेनपाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिविन नेपालका कार्यक्रम अधिकृत बसन्त ढुङ्गानाले स्वागत गरेका थिए ।