ठकुरीहरुले गाउँ छाडेपछि म्याग्दीका मल्लकालीन घरहरु जीर्ण बन्दै

म्याग्दीको बेनी नगरपालिका वडा नं २ एकसय वर्ष भन्दा पुराना मल्लकालीन वास्तुकलाका घर छन् । ती घरहरु अहिले इतिहाँसको साक्षी बनेका छन् ।२०४६ सालसम्म मल्ल वंशीय ठकुरीहरुको बाहुल्य रहेको गौश्वारामा प्रजातन्त्रको पुर्नस्थापना पछि शहर केन्द्रित हुने प्रवृतिका कारण अहिले ती घरहरु जीर्ण बन्दै गएका छन् ।

ठकुरीहरु गाउँबाट नै पलायन बनेपछि म्याग्दीको गौश्वारामा रहेका मल्लकालीन वास्तुकला जीर्ण बन्दै गएका छन् । मल्लहरु शहर केन्द्रित भएपछि उक्त बस्ती थप उजाड देखिएको छ।जस्तै सिर्मुर सालका काठका कलात्मक बुट्टा भरिएका दलिन,बला र टुँडाल आँखिभm्याल,फलाँटे ढोका अनि गाह्रो लगाइएका आकर्षक ढुङ्गा अहिले फिक्का देखिन्छन् ।

गौश्वारामा सुदर्शन मल्ल,माधव मल्ल,घनश्याम मल्ल,परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका घरहरु करिव एकसय वर्ष पुराना भएको स्थानीय शिक्षक रामबहादुर गुरुङले बताउनु भयो ।यी घरहरुको इतिहास मल्लवंशीय राजखलक र राणा खलकसंग जोडिएको छ ।

तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिंजा उपत्यकाबाट वसाइ सरेर यहाँ आएको इतिहास भेटिन्छ ।यहाँ आएपछि काठमाण्डौंमा रहेका मल्ल र राणाहरुसंग ठकुरीहरुको वैवाहिक सम्वन्ध गाँसिएको र त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै गएको स्थानीय परमेश्वरवम मल्लले बताउनु भयो ।अहिले कतिपय मल्लहरु काठमाण्डौं,चितवन,पोखरा जस्ता बसाई सरेका छन् भने कतिपय मल्लहरु भने अझै आफना पुर्खाको घर, झ्यालढोका, ढुङ्गा आदि लगायतको सुगन्धको संरक्षण गरिरहेका छन् ।