बिम बस दुर्घटनामा परेकालाई अमेरिकामा आर्थिक संकलन

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा परेकालाई लक्षित गरी प्रवासमा रहेका बिमबासीले आर्थिक संकलनलाई तिब्रता दिएका छन् । दरबाङबाट बिमका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा ज्यान गुमाउनेका परिवार, घाईतेलाई लक्षित गरी बिम मालिका अन्तराष्ट्रिय परिवारले सुरु गरेको आर्थिक संकलन अभियान अन्तरगत बिम अमेरिकाले २ लाख ५ हजार १४३ रुपैयाँ संकलन गरेको चकबहादुर पाईजा ‘बहादुर’ ले बताए ।

बिम मालिका अन्तराष्ट्रिय विभागले दुर्घटनामा मृतक र घाईतेलाई लक्षित गरी आर्थिक सहयोगको अभियानको अपिल गरेको थियो । बिम मालिका संघ विदेश विभागका अध्यक्ष कृष्ण जुग्जालीले विभिन्न देशमा आर्थिक संकलन अभियान जारी रहेको बताए । उनले आर्थिक संकलन अभियानमार्फत संकलन भएको आर्थिक अभियान बन्द भएपछि समाजले निर्णय गर्ने बताए । मृतकको परिवार र घाईतेहरुको अवस्था हेरेर उपलब्ध गराउने जनाइएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेर मृत्यु हुने गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिम म्याग्दीकी ७० वर्षीया सतदेवी भट्टचन, ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जालीको थियो भने २८ घाईते भएका थिए । दुर्घटनामा परेका अधिकांश घाइतेहरुको टाउको, छाती, हातखुट्टा, मेरुदण्ड, निधार, शरिरका अन्य तथा भित्री भागमा चोटपटक देखिएको थियो।