म्याग्दीको माटोमा भलिबल खेल्न सिके

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि बल्ल अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेको छ । बंगलादेशमा भएको प्रतियोगिता अवधिमा कुनैपनि खेलमा पराजित नभएको नेपाली टोलीले सोझो सेटमै फाइनल खेल आफ्नो कब्जामा पार्न सफल भएको छ । यसै सन्र्दभमा बेनीअनलाइनले शाहीसँग गरेको कुराकानी.

 

तपाईले कहिलेदेखि भलिबल खेल्न सुरु गर्नुभयो ?
सर्वप्रथम, धन्यवाद । मैले २०६४ सालदेखि भलिबल खेल्न सुरू गरे । बाल्यकालमा मैले भलिबल खासै खेल्ने थिईन् । विद्यालयमा साथीहरूसँग खेल्न सुरु गरेपछि गाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा समेत सहभागी हुन थाले । विद्यालयबाट विरेन्द्र शिल्डमा खेल्ने अवसर पाएपछि मेरो खेल राम्रो रहेछ भन्ने लागेर निरन्तर खेल्न थालेको थिए ।

म्याग्दीबाट पोखरामा विरेन्द्र शिल्ड खेल्न जाँदा ज्ञानुबाबा स्कुलका कोच कौशिला खत्रीले मेरो खेलबाट उत्साहित भएर पोखरामै पढ्ने र खेल्ने अवसर दिनुभयो । त्यो दिनलाई मैले जीवनकै अविस्मरणीय क्षणको रुपमा लिने गरेको छु । मैले आफ्नो जन्मभूमि म्याग्दीबाट सिकेको भलिबललाई अन्तराष्ट्रियस्तरसम्म खेल्ने अवसर मिलेकोमा उत्साहित छु ।

म्याग्दीको एउटी चेलीले राष्ट्रिय भलिबल हाँक्ने अवसर पाउँदा कस्तो लागेको छ ?
राष्ट्रिय टिमबाट खेल्ने अवसरसँगै महिला भलिबल टिमको कप्तानको जिम्मेबारी सहाल्न पाउँदा धेरै खुसी लागेको थियो । मेरो नेतृत्वमै थाईल्याडमा हामीले प्रशिक्षण कार्यक्रममा सहभागि हुने अवसर मिल्यो । त्यसलगत्तै बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको ट्रफी कब्जा गर्न सफल भयौ । यो उपाधीले नेपाली महिला भलिबललाई नयाँ उचाईमा पु¥याउन सफल भएको छ । हामीले दुईदशक यता नेपाली महिला भलिबलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको उपाधी जित्न सफल भएका छौ । सामुहिक मेहनत र प्रशिक्षकको साथले मैले अझै राम्रो गर्ने प्रयास गर्नेछु ।

भलिबल खेलबाट आर्थिक रुपमा आत्मनिर्भर हुन सकिन्छ त ?
नेपालका हरेक क्षेत्रमा काम गर्न चुनौतीपूर्ण छ । खेल क्षेत्रबाटै आत्मनिर्भरको सम्भावना न्यून भएपनि यसबाट आत्मसन्तुष्टी, आफ्नो देशलाई विश्वमा चिनाउन सजिलो हुन्छ । विश्वभरका खेलाडीहरूमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेर सहभागी हुने अवसरलाई आर्थिकसँग तुलना गर्न सकिदैन् । तर, खेल जीवनलाई ब्यवसायीक बनाउन नेपाली खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन चुनौतीपूर्ण छ । पछिल्लो समय केही सहज भएको छ ।

नेपाली खेलाडीले विदेशमा रहेका नेपाली संघसंस्थामार्फत खेल्ने, राष्ट्रिय खेलकुद सहित खेल क्षेत्रमा सक्रिय रहेका संघसंस्थाले समेत ठूलो धनराशीले सम्मान गर्ने अवस्थाले खेलाडीलाई केही सहज भएको छ । भलिबल हाम्रो राष्ट्रिय खेल भएकाले पनि यसलाई प्रबर्धन गर्न राज्यले योजनाबद्ध तरिकारले अगाडी बढेमा भविस्य राम्रो छ ।

तपाईले भलिबलको कप्तानको रुपमा देखेको सपना के कस्ता छन् त ?
नेपाली महिला भलिबल टोलीले विगतका हरेक अन्तराष्ट्रियस्तरका प्रतियोगितामा मुस्किलले रजत पदक सम्म जितेको उदाहरण छन् । प्रयाप्त स्रोतसाधनको अभाव, खेलकुदमा राज्यको कम लगानी, लगाएत धेरै कारणले नेपाली भलिबल टोलीले आफ्नो खेललाई उकास्न सकिएको थिएन् ।

आफ्नै देशभित्र भएका अन्तराष्ट्रियस्तरका खेलहरूमा समेत सन्तोषजनक खेल देखाउन नसकेको पीडा हामीसँग छ । निरन्तरको मेहनत, खेलप्रति पूर्ण सर्मपित भएर उपाधी जित्नै गरिएको प्रयासले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको ट्रफी कब्जा गर्न सफल भयौं । मलाई कप्तानको जिम्मेबारी दिएलगत्तै मैले देखेको पहिलो सपना यो नै हो ।

अब १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भलिबलमा स्वर्ण पदक जित्ने लक्ष्य रहेको छ । घरेलु भूमिमा हुने खेलमा महिला भलिबलमा दोस्रो उपाधी जित्ने गरी अभ्यासमा जुट्ने छौ । भलिबलमा मेरो ब्यक्तिगत सपना भन्नुपर्दा मैले नेपाली महिला टोलीलाई अन्तराष्ट्रियस्तरमै अब्बल टोली भएको देख्न चाहन्छु । तुलनात्मक रूपमा बलिया मानिने भारत तथा श्रीलङ्कासँग समेत सामाना गर्दा समेत विजय प्राप्त छौ । अन्तराष्ट्रियस्तरको उपाधीको खडेरी तोडेपनि साकमा स्वर्ण पदक जितेर भलिबलको तिर्खा मेट्ने छौ ।