गलेश्वरधाम क्षेत्रमा बालाचर्तुदशी पर्वको अवसरमा मेला

बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वरधामा बालाचर्तुदशी पर्वको अवसरमा विविध खेलकुद कार्यक्रम हुने भएको छ । पर्वको अवसरमा गलेश्वर शिव यूवा क्लवले गलेश्वर बजार सरसफाई, खेलकुद गतिविधि सहित सांस्कृतिक कार्यक्रम तथा भक्तजनलाई सहज हुने गरी विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

गलेश्वर बजारमा सक्रिय रहेको यूवा क्लवले पर्वको अवसरमा आगामी मंसिर ८ देखि १५ गतेसम्म नगर तथा वडास्तरीय भलिबल, पुरुष बास्केटबल र पौढ भलिबल प्रतियोगिता गर्ने क्लवका अध्यक्ष कुलप्रसाद गर्बुजाले बताए । उनका अनुसार प्रतियोगितात्मक कार्यक्रमसँगै पर्वको अवसरमा गलेश्वरमा प्रवेश गर्ने भक्तजनलाई समेत सहज पूजाआजाको ब्यवस्था गरिने बताए ।

स्थापनाकालदेखि गलेश्वरमा खेलकुद सहित गतिविधिमा सक्रिय रहेको क्लवले स्थानीय कलाकारहरुको उपस्थितीमा सांस्कृति कार्यक्रम समेत गर्ने संयोजक रमेश पूर्जा पुनले बताए । प्रतियोगितामा पुरुष भलिबलको प्रथम पुरस्कार ८५ हजार, पुरुष बास्केटबल ५५ हजार, महिला भलिबल ३५ हजार र पौढ भलिबललाई ३५ हजार नगद सहित विभिन्न विधाका पुरस्कार वितरण गरिने छ ।

प्रतियोगितामार्फत बचत भएको रकमलाई क्लवले संस्थागत तथा सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । बालाचर्तुदशी मेलाको अवसरमा स्वदेश तथा विदेशमा रहेकामार्फत सहयोग संकलन भइरहेको जनाइएको छ । क्लवले धार्मिक गतिविधिमा समेत निरन्तर सहयोग गर्ने गरेकाले पनि गलेश्वर शिवालय क्षेत्र विकास कोषले समेत प्रतियोगितालाई सघाइरहेको छ ।

बालाचर्तुदशी पर्वको पुर्वसन्ध्यामा गलेश्वर बजारमा सरसफाई सहित मन्दिर परिसरमा समेत सरसफाई गरिने क्लवका सचिव दिवाकर बुढाथोकीले बताए । पर्वमा पुजा पाठ गर्ने र सतबिज छर्ने भक्तजनको घुईचो लाग्ने गरेको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।