म्याग्दीका सुशील श्रेष्ठलाई मलेसियामा काँस्य पदक

म्याग्दीका एक टेक्वान्डो खेलाडीले मलेसियाामा आयोजना भएको सातौं अन्तराष्ट्रिय टेक्वान्डो क्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । १८ वटा देशबाट सहभागी भएको प्रतियोगितामा सुशील कुमार श्रेष्ठले नेपाललाई काँस्य पदक जिताएका हुन्। बेनी नगरपालिका वडा नं ८ निवासी श्रेष्ठले नोभेम्बर १७ र १८ गते आयोजना भएको प्रतियोगितामा नेपाली टोलीलाई पदक विहिन हुनबाट जोगाएका छन् ।

म्याग्दीका साथै राष्ट्रियस्तरका खेलमा समेत पदक जितेका श्रेष्ठबाट स्वर्ण पदककको अपेक्षा गरिएपनि रित्तो हात नफर्किएको टेक्वान्ढो महासंघका केन्द्रिय सदस्य समिर रुम्बाले बेनीअनलाइनलाई बताए । उनले म्याग्दीमा हुने अभ्यास तथा विभिन्न समस्याका कारणले अपेक्षा गरे अनुसारको नतिजा नआएपनि निरन्तर अभ्यास र भविस्यमा श्रेष्ठबाट थप प्रगति हुने बताए ।

अनुभव, नियमित अभ्यास सहित विगतका खेलहरुमा समेत श्रेष्ठले उत्कृष्ट खेल देखाउन सफल भएका थिए । यसैबीच श्रेष्ठले सिंगापुरमा भएको सेमिनारमा समेत सहभागिता जनाएका छन् । म्याग्दी जिल्ला मार्सल आट अन्तरगतका खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएको छ ।