उत्खनन् र संरक्षण नहुँदा अलपत्र छन् हिमाली भेगमा खानीका खजाना

म्याग्दीका उपल्लो भेगमा रहेका तामा,स्लेट,खरि र चुनढुङ्गा लगाएतका बहुमूल्य खानीहरु उत्खनन् र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, काली गण्डकी र रघुगंगा नदीको बहाब क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानीहरु अहिलेसम्म पनि संचालनमा नल्याइँदा अलपत्र परेका हुन् ।

हिमाली पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दी जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीहरु समेत भएका पुष्टि भएपनि सम्वन्धित निकायको मौनताले र खानी उत्खनन् सम्वन्धि प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानीहरु अलपत्र परेका सरोकारवालाहरुले बताएका छन् ।म्याग्दीको मालिका गाउँपालिका ५ ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन् गर्न नसकिएको खानीका पूर्व ठेकेदार तथा हाल मालिका गाउँपालिका ५ ओखरबोटका वडाअध्यक्ष दीलिप शेरचनले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरिढुङ्गा खानी पनि बन्द छ ।

स्थानीय बूढापाकाका अनुसार ओखरबोट,भकिम्ली,गौश्वारा लगाएतका ठाउँमा रहेका तामा खानी २०२८ सालसम्म संचालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन गर्न छाडेका हुन” मल्कावाङका ७१ वर्षिय मनबहादुर छन्त्यालले बताउनुभयो ।

साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली लगाएतका गाविसमा करिब बीसवटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातीको जनसङ्ख्या एघार हजार रहेको छ ।परम्परागत पेसाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आवद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो ।

छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाहरुको भनाइरहेको छ।खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न खनिएका पाँच सय मिटर सम्मका सुरुङहरु ओखरबोटमा अझै भेटिने स्थानीय नविन पुनले बताउनुभयो ।

उहाँका अनुसार ती सुरुङमा अहिले पानी भरिएको ताल बनेको छ भने सुरुङ भित्र तामाका धाउहरु असरल्ल अवस्थामा रहेका छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना,मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो ।खानी उत्खनन गर्ने अधिकार संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तिब्ररुपले उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधिहरु सम्वन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशन समेत गएका छन् ।