पैयूँ फुल्यो : मौरी खै ? (फोटो फिचर)

मह उत्पादनका लागि मौरीको उत्कृष्ट आहारा मानिएको पैयूँ यतिखेत मध्य म्याग्दीका विभिन्न गाउँहरुमा ढकमक्क फुलेको छ ।दुई वर्ष अघिसम्म वातावरणीय असन्तुलनका कारण पैयूँ नफुल्दा मह उत्पादनमा कमी आएको भनेर मौरीको घार घटाएकी बेनी नगरपालिका ५ डढुवाकी राममाया खत्रीलाई अहिले पाखैभरी ढकमक्क पैयूँ फुलेपछि लाग्नुसम्मको थकथक लागेको छ ।

म्याग्दीको डढुवा,कुहुँ,पुलाचौर,झीँ लगाएतको जंगल, खेतवारीका कान्ला र पाखामा यो वर्ष विगतका वर्षहरुमा भन्दा पैयुँ राम्रोसंग फुलेपछि वातावरणीय सौन्दर्यमा समेत वृद्धि भएको स्थानीयले बताएका छन् ।मध्य म्याग्दी मौरी पालनका लागि उपयुक्त ठाउँ मानिए पनि पछिल्लो समय यहाँ मौरी पालन कृषकहरुको संख्या भने घट्दै गएको छ ।

विगतका वर्षहरुमा मौरीलाई चरन क्षेत्रको अभाव हुँदा मह उत्पादनमा क्रमशः कमी आउँदै गएपछि किसानहरुमा मौरी पालनप्रतिको मोह भंग हुँदै गएको थियो । तर यस वर्ष पैयूँ राम्रोसंग फुलेपछि भने पुनः मौरीपालन गर्न कृषकहरुलाई उत्प्रेरणा प्राप्त भएको पुलाचौरका शिक्षक शिव बानियाँले बताए ।आर्युवेदिक चिकित्सामा पौयूलाई औषधीय गुणले युक्त फूल मानिन्छ ।

पौयूको दाना र पात पनि स्वास्थ्यका लागि अत्यन्तै उपयोगी हुने आर्युवेदिक चिकित्सकहरुले बताउँछन् ।त्यसैगरी धार्मिक कार्य र अनुष्ठानका लागि पनि पैयूँ आवश्यक वनस्पति हो । मन्दिर वा पुजा मण्डपमा पौयूँका पात वा हाँगा नराखेसम्म कुनै पनि धार्मिक कार्य र अनुष्ठान सम्पन्न गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसका साथै वातावरणीय सन्तुलन कायम राख्न पनि पैयूँ लगाएतका वनस्पतिहरुको महत्वपूर्ण भूमिका हुने वातावरणविद्हरुले बताएका छन् ।