सङ्गिनीको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ

महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी विश्वकर्मा र कोषाध्यक्षमा शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा सुधाकुमारी श्रेष्ठ, मेलिना पौडेल, मिनाकुमारी मल्ल हमाल, देवी केसी सुवेदी, सुनिता केसी र कमला सुवेदी रहेका छन् । त्यस्तै लेखा संयोजकमा कमलकुमारी थापा, सुमित्रा गैरे पौडेल र थरिमाया पुन रहेका छन् ।

यसअघि साधारणसभामा संस्थाका अध्यक्ष साधना श्रेष्ठले संस्थागत, सचिव तेजकुमारी बानियाँ (गंगा)ले प्रगति, कोषाध्यक्ष शर्मिला श्रेष्ठले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुनिता बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा संस्थाका लेखापाल थममाया थापा, बजार प्रतिनिधिद्वय कल्पना भण्डारी, मनमाया थापा र कार्यालय सहयोगी सन्तु खत्रीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । यसैगरी संस्थामा उत्कृष्ट कारोबार गर्ने तिरणदेवी पुन र सावित्री श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

सहकारीका ज्येष्ठ शेयर सदस्य पदमदेवी पाईजाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नविना रावलको स्वागत र निवर्तमान सचिव तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले गत आर्थिक वर्षसम्म शेयर सदस्य ३ सय ९८, शेयर पुँजी दुई करोड ११ लाख ४२ हजार आठसय, लगानी पाँच करोड ४४ लाख ८४ हजार छ सय ५० र बचत पाँच करोड छ लाख चारहजार पाँचसय ९४ रुपैयाँ रहेको जनाएको छ ।