निर्मल पूर्जालाई ७ लाख राशीको ‘नविल हिरो’ उपाधि

६ महिनाको अवधिमा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जालाई नेविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना स्थायी घर भएका पूर्जालाई बैंकले ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो ।

नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै हिमाल आरोहणका ‘रियल हिरो’ भएको बताए । पूर्जाले गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका पूर्जाले लगत्तै म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि चर्चामा आएका थिए ।

उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका थिए । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै रहेकाले पनि सम्मानले हिमाल आरोहण र पर्यटनको क्षेत्रको विकासमा सघाउने बताइएको छ । उनी ब्रिटिश सेनाको स्पेशल र्फोसमा छनौट हुने पहिलो गोर्खाली समेत हुन् ।

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड छ भने गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।