किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती मनाइँदै

नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाइँदैछ ।आजभन्दा ८८ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को रुपमा चिनिन्छ ।

किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाउनुभएको थियो ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन हुनुभएका उहाँलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको छ ।

किरातीहरुलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्नुहुने महागुरु फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरुलाई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराउनु भएको थियो । त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ । नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपी आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिनुभएको छ ।

सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् ।

उहाँले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गर्नुभएको थियो । समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उहाँ आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनुभएको थियो ।

न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनुभएको थियो । बेलायती सेनामा केही वर्ष काम गर्नुभएका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाउनुभयो । यस क्रममा उहाँ भारत र भुटानसम्म पुग्नुभएको बताइन्छ ।

नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुग्नुभएका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो ।