विश्व कीर्तिमानधारी निर्मल पुर्जा र सन्दर्भ नेपाल भ्रमण बर्ष २०२०

दिनेश नारायण श्रेष्ठ/२०७६ कार्तिक १२ गते भाइटिकाको साँझ ७ बजेको कान्तिपुर टेलिभिजनको समाचारमा म्याग्दीका निर्मल पूर्जाले विश्वका आठ हजार मिटर माथिका सबै १४ वटा हिमाल ७ महिना भित्र सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाए भनि समाचार प्रसारण गरी रहँदा ध्यानपूर्वक समाचार सुन्नु र हेर्नुका साथै मन त्यसै त्यसै पुलकित भएर निजले आफ्नो नाममा विश्व कीर्तिमान खडा गर्नुका साथै हाम्रो मुलुक नेपाल र अझ हामी जिल्लाबासी म्याग्दीको भएको नाताले आफ्नै मुलुक र संसारभर सम्मान र चर्चित बनाए भनि मिठासपूर्ण अनुभूतिका साथ निजले हिमाल आरोहणको लागि भनेर नै हुँदा खाँदाको ब्रिटिश गोर्खाको आकर्षक जागिर त्याग गरी ७ महिना भित्र विश्वका आठ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्छु भनि उनले गरेको प्रतिज्ञा, त्याग, बलिदान, नेतृत्व, साहष, मिहिनेत, लगन, समय, आर्थिक व्यवस्थापन र टिम वर्क प्रति एकै पटक गौरवान्वित, श्रद्धाभाव, स्यावसी, शुभकामना र बधाईका संवेग आपसे आप जागृत हुन पुगे ।

दिनेश नारायण श्रेष्ठ

पृथ्वीमा रहेको आठ हजार मिटर अग्ला हिमालहरु जुन नेपालमा आठ वटा, पाकिस्तानमा पाँच वटा र चीनको तिब्वतमा एउटा गरी १४ वटा हिमालहरु सात महिना भित्र आरोहण सम्पन्न गर्ने लक्ष्यका साथ प्रोजेक्ट पोसिबल १४ः७ नामाकरण गरी ब्रिटिस गोर्खाको जागिरबाट राजिनामा दिई २०१९ को अप्रिलबाट अभियान थालनी गरेका उनले पहिलो आरोहण अन्नपूर्ण प्रथम ८०९१ मिटर, अप्रिल २३, २०१९ देखि अन्तिम १४औं आरोहण गरेको सिसापिङ्मा ८०२७ मिटर, अक्टोवर २९, २०१९ सम्म हिसाव गर्दा ६ महिना ६ दिन अर्थात १९० दिनमा सबै हिमाल सफलतापूर्वक आरोहण गरी अविश्वसनीय विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

उनले यति छोटो समयमा बनाएको विश्व कीर्तिमान यस अघि दक्षिण कोरियाका किम चाङ हो ले ७ बर्ष १० महिना ६ दिन लगाएर राखेका थिए । तर उनले यस अभियानमा अति महत्वाकाँक्षाका साथ मानवको आफ्नो क्षमता, आत्मविश्वास, आँट, साहस र सकरात्मक सोंचका साथ सुझवुझपूर्ण निर्णय गरी अभियानलाई गतिशील बनाई असम्भव जस्तो लाग्ने चुनौतिलाई सामना गर्दै तोकिएको समय सिमा भित्र गो फण्ड मी मार्फत आर्थिक जोहो गर्दै हिमाल आरोहणको लागि सम्पूर्ण चाँजोपाँजो मिलाउने कम्पनी मार्फत एक चुस्त राम्रो टिमको साथमा विद्यमान समयको पूर्ण प्रविधि र हेलिकप्टरको उपयोग गरी अभियानलाई सफल बनाएको पाईन्छ ।

यस अघिका १४ वटै हिमाल आरोहण गर्ने कीर्तिमानी आरोहीहरु एक सिजनमा एक मात्र हिमाल आरोहण गरेको वा धेरै बर्ष लगाएर उनीहरुले पूरा गरेको उनीहरुले आरोहण गरेको मितिलाई ख्याल गर्दा बुझिन्छ भने निर्मल पुर्जाले उनको टिमले पहिले नै सबै व्यवस्था ठिक्क पारी उनी त्यँहा जाने र चढ्ने मात्र काम सम्पन्न गरेको उनको आरोहण व्यवस्थापन गर्ने कम्पनी सेभेन ससिट टे«कका मिङमा शेर्पाको भनाई रहेको छ ।

जो कि उनी आफै पनि आठ हजार मिटर अग्ला १४ वटै हिमाल ११ बर्ष लगाएर आरोहण गर्ने नेपालका पहिलो व्यक्ति हुन् । उनी पछि उनका भाइ छाङ दावा शेर्पा र सानु शेर्पा गरी जम्मा तीन जना मात्र थिए भने अव आठ हजार मिटर अग्ला चौधवटै हिमाल आरोहण गर्ने नेपालका पाँच जना पुगेका छन् ।

त्यसमा निर्मल पुर्जा चौंथोमा र उनलाई यस अभियानमा नौ वटा हिमाल आरोहण गरी साथ दिने मिङमा डेविड शेर्पा पाँचौ भएका छन् जो सबै भन्दा कम उमेरका एट थाउजण्डर्स समेत हुन् । विश्वमा सबैभन्दा पहिले आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाउने इटालीका रेनहोल्ड मेसनर हुन जसले सन् १९७० देखि १९८६सम्म १६ बर्ष लगाएर पूरा गरेका थिए । स्पेनका इडुर्ने पासावन लिजारिवार जो विश्वका २१ औं र पहिलो महिला आरोही हुन् जसले ९ बर्षमा पूरा गरेका थिए । विश्वमा अव एट थाउजण्डर्समा जम्मा ४४ जना पुगेका छन् । त्यसमा निर्मल पुर्जा ४३औं र निमा डेविड शेर्पा ४४औं नम्वरका कीर्तिमानधारी आरोहीहरु भएका छन् ।

यससंगै निर्मल पुर्जाले नेपाली शेर्पाको नाममा हिमाल आरोहण सम्वन्धी कायम रहेका अनेक कीर्तिमानसंगै नेपालीले हिमाल आरोहणलाई एउटा साहसिक र अन्य देशका पर्वतारोही जस्तै मनोरञ्जनयुक्त खेलको रुपमा लिन थालेको सन्देश दिएका छन् । हिमाल चढ्नु भनेको चानचुने खेल हुँदै होइन । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने आशंका बीच यति छोटो समयमा आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण पूरा गर्नु भनेको अविश्वसनीय, अकल्पनीय र अति नै दुस्साहसपूर्ण खतरनाक दुर्लभ अभियान हो भन्नुमा कुनै अत्युक्ति हुने छैन । त्यसैले यसलाई कसैले सुसाइड मिसनसम्म भन्न भ्याएका थिए भने निर्मल पुर्जाको श्रीमती सुची पुर्जाले स्काई न्यूजसंगको अन्र्तवार्तामा नो न्यूज इज गुड न्यूज भनेका थिए ।

आफ्नो पूर्खा र आफ्नो जन्मथलो प्रतिको ममता र बात्सल्यले आठ हजार मिटर अग्ला हिमालको आरोहण आफ्नै गाउँठाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ को साँधसिमामा अवस्थित विश्वको दशौं उच्च शिखर अन्नपूर्ण प्रथम ८०९१ मिटरमा वि.सं. २०७६ बैशाख १० गते मंगलबार तदनुसार सन् २०१९ अप्रिल २३ तारिखको दिन पहिलो पाइला टेकी शुभारम्भ गरेका थिए ।

त्यसपछि उनले म्याग्दी कै धवलागिरी गाउँपालिका वडा नं. ४ स्थित विश्वको सातौं उच्च शिखर धौलागिरी प्रथम ८१६७ मिटरमा २०७६ बैशाख २९ तदनुसार २०१९ मे १२ का दिन दोश्रो आरोहण गर्न सफल भएका थिए । त्यसैगरी उनले नेपालको सुदुर पूर्व उत्तर ताप्लेजुङ्ग जिल्लामा अवस्थित विश्वको तेश्रो अग्लो चुचुरो कञ्चनजङ्घा ८५८६ मिटरमा २०७६ जेष्ठ १ गते तदनुसार २०१९ मे १५ मा तेश्रो आरोहण गर्न सफल भए । कञ्चनजङ्घा हिमाल आरोहणको लागि उनी धौलागिरी बेसक्याम्पबाट कञ्चनजङ्घाको बेसक्याम्पसम्म हेलिकप्टरमा सयर गरी आरोहण केवल ३ दिनमा पूरा गरेको ज्ञातव्य हुन्छ ।

त्यसपछि उनी २०७६ जेष्ठ ८ गते तदनुसार २०१९ मे २२ तारिखको दिन विश्वकै सबैभन्दा सर्वोच्च शिखर सगरमाथा ८८४८ मिटरमा चौंथो र सोही दिन सगरमाथाबाट नजिकै रहेको चौंथो अग्लो शिखर ल्होत्से ८५१६ मिटरमा पाँचौ आरोहण सम्पन्न गरेका थिए । यसको लगत्तै जेष्ठ १० गते मे २४ मा संखुवासभाका रहेको पाँचौ अग्लो शिखर मकालु ८४८५ मिटरमा छैंटो आरोहण सम्पन्न गरी ४८ घण्टामा तीन वटा र ३१ दिन भित्रमा आठ हजार मिटर अग्ला छ वटा हिमाल आरोहण सफलतापूर्वक सम्पन्न गरी कीर्तिमान राख्न सफल भएका थिए ।

त्यसपछि उनको दोश्रो मिसन अन्तर्गत पाकिस्तानमा रहेको आठ हजार मिटर अग्ला ५ वटा हिमालहरुमा २०१९ जुलाई ३ (२०७६ आषाढ १८) मा नवौं अग्लो शिखर नङ्गा पर्वत ८१२५ मिटरमा सातौं, जुलाई १५ (आषाढ ३०) मा एघारौं अग्लो शिखर गासेरब्रुम पहिलो ८०८० मिटरमा आठौं, जुलाई १८ (श्रावण २) मा तेह्रौं अग्लो शिखर गासेरब्रुम दोश्रो ८०३५ मिटरमा नवौं, विश्वकै दोश्रो सर्वोच्च शिखर केटु ८६११ मिटरमा जुलाई २४ (श्रावण ८) मा दशौं र जुलाई २६ (श्रावण १०) मा बाह्रौ अग्लो शिखर ब्रोड पिक ८०५१ मिटरमा एघारौं सफल आरोहण गरेका थिए ।

उनले उक्त ५ वटा हिमाल आरोहण बर्खा याममा केवल २४ दिनमा पूरा गरेका थिए । यो पनि उनको अर्को कीर्तिमान नै हो। नेपाल फर्किएर सोलुखुम्वु स्थित छैटौ अग्लो शिखर चो यु ८१८८ मिटरमा २०१९ सेप्टेम्वर २३ (२०७६ असोज ६) मा बाह्रौं र त्यसको ४ दिन पछि सेप्टेम्वर २७ (असोज १०) मा गोर्खा स्थित आठौं अग्लो शिखर मनास्लु ८१६३ मिटरमा तेह्रौ हिमाल आरोहण गर्न सफल भए । प्रोजेक्ट पोसिबल १४ः७ अभियान चीनको तिब्वतमा अवस्थित सबैभन्दा कान्छो हिमाल सिसापाङ्मा ८०२७ मिटर आरोहण नगरी सफल पूरा हुने थिएन नै ।

तर यस सिजनमा चीनले उक्त हिमाल आरोहण गर्न बन्द गरी सकेको अवस्थामा उनले सोसियल मिडियालाई पनि भरपूर उपयोग गरी हारगुहार र अनुरोध गरे भने चिनिया राष्ट्रपति सि चिनफिङ २०१९ अक्टोवर १२ र १३ तारिखका दिन नेपाल भ्रमणमा आएको मौकामा सरकारी उच्च स्तरबाट समेत बिशेष पहल र अनुरोधमा चीन सरकारबाट अनुमति प्राप्त भए पछि २०१९ अक्टोबर २९ तारिख ( २०७६ कार्तिक १२ गते) मंगलबार स्थानीय समय अनुसार बिहानको ८ बजेर ५८ मिनेटमा उक्त १४ औं हिमाल सिसापाङमाको चुचुरोबाट उनले ट्वीट गर्दै मिसन सफल भएको उद्घोष गरे ।

त्यसपछि के चाहियो उनको यस सफलता प्रति नेपाल लगायत संसारभरको मिडियाहरुमा प्रमुखताका साथ समाचार प्रसारित हुनुका साथै उनी एकाएक भाइरल हुन पुगे । उनी एक साधारण लाहुरेबाट सेलिब्रेटी आरोही बन्न पुगे । सोसियल मिडियाहरुमा समाचार, अन्तर्वार्ता र बधाईको ओइरो नै लाग्यो ।

उनको यस उपलव्धिलाई नेपाल र नेपालीहरु सबैको लागि अति नै गौरव र नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रमा यसबाट अझै थप सकरात्मक योगदान पुग्न जाने कुरामा अव कुनै शंकै रहेन । हिमाल आरोहण गर्नु अति नै रोमाञ्चकारी, जोखिमयुक्त र साहसिक कार्य त हुँदै हो ।

निर्मल पुर्जाले कायम गरेको विश्व कीर्तिमान र सफल आरोहण अभियानले यो सुरक्षित र रोमाञ्चकारी एवं् मनोरञ्जनयुक्त पनि छ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भएका छन् । सिसापिङमा चुचुरोबाटै उनले ट्वीट गर्दै दृढ र सकरात्मक सोंचले अगाडि बढ्दा मात्रै जीवनमा सबै कुरा सम्भव छ । आफ्नो टिमको दृढताकै कारण मिसन सफल भएको र हामीले टिमको रुपमा मात्रै होइन दाजुभाइको रुपमा आरोहण गरी असम्भवलाई सम्भव बनाउनु र मानवताको सीमिततालाई अर्को तहमा पु¥याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो भनी ट्वीटर मार्फत सन्देश संप्रेसन गरेका थिए ।

प्रोजेक्ट पोसिबल १४ः७ हिमाल आरोहणमा उनलाई साथ दिने अन्य आरोहीहरुमा मिङमा डेविड शेर्पा, ग्याल्जेन शेर्पा, लाक्पा डेण्डी शेर्पा, हेलुङ दोर्जी शेर्पा र गेसमान तामाङ्ग थिए । एउटा अन्र्तवार्तामा निर्मल पुर्जाले भनेका थिए म कुनै रेकर्ड राख्न हिमाल चढिरहेको छैन । मेरो प्रतिस्पर्धा मैसंग मात्र हो । यति भन्दा भन्दै पनि उनले बनाएको रेकर्ड आफैमा एक अविश्वनीय र अकल्पनीय विश्व कीर्तिमान हुँदै हो । यो कुनै चानचुने कीर्तिमान हुँदै होइन । गिनिज बुक अफ द वल्र्ड रेकर्डमा पहिले २०१७ मै उनले तीन वटा रेकर्ड राखी सकेका थिए ।

अव यस अभियानबाट उनले अझै थुप्रै कीर्तिमान बनाएका छन् । त्यसैले त उनको यस उपलव्धिलाई संसारभरका प्रमुख मिडियाहरुले प्रमुखताका साथ टेलिभिजनमा, छापामा, रेडियोमा र सामाजिक सञ्जालहरुमा प्रचारप्रसार गरे । उनको यस मिसन सफलतासंगै उनी एक साधारण लाहुरेकर्मी व्यक्तिबाट एकाएक भाइरल बनी सेलिब्रेटी आरोही बन्न सफल भए । उनले आफूलाई चिनाए । नेपाललाई चिनाए । साथै उनी नेपालको पनि म्याग्दी जिल्लामा जन्मिएका भनी उन जन्मेको गाउँ दानालाई समेत चिनाउन सफल भए । त्यसैले उनी र उनको टिम त्रिभुवन बिमानस्थलमा उत्रिदा नै उनका सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए भने अव उनलाई म्याग्दी जिल्लाबासी र गाउँलेहरुले भव्यरुपमा स्वागत अभिनन्दन गर्न प्रतिक्षारत रहेका छन् ।

नेपाली गोर्खालीहरु ब्रिटिश सेनामा भर्ति भएको २०० बर्ष पुगेको अवसरमा निर्मल पुर्जाले ब्रिटिस गोर्खा एक्सीपिडिसनका १३ सदस्यीय टोलीको नेतृत्व गर्दै सन् २०१७ मे १५ मा उनी ब्रिटिस सेनाका तर्फबाट पहिलो सगरमाथाको सफल आरोहण गरेका थिए भने त्यसको १२ दिन पछि मे २७ मा १० घण्टा १५ मिनेटको अन्तरालमा आठ हजार मिटर अग्ला सगरमाथा र ल्होत्से तथा ५ दिन भित्र मकालु १७ दिनको अन्तरालमा सगरमाथा दोश्रो पटक, ल्होत्से र मकालु एक–एक पटक आरोहण गरी तीन वटा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाई सकेका कीर्तिमानी आरोही हुन् ।

साथै उनले सन् २०१६ मे १३ मा पनि सगरमाथा आरोहण गरेका थिए । सोही समय उनी चुचरोबाट फर्कदैं गर्दा भारतीय एक महिला पर्वतारोही ८४०० मिटरको उचाईमा करिव करिव मृत्युको सम्मुख पुगेको अवस्थामा उनको उद्धार गर्दा कुनै ठाउँमा काँधमा बोकेर र पछि अंगालोमा कसी दो¥याएर ८००० मिटरसम्म झारी उनको ज्यान बचाएका थिए । त्यसपछि उनलाई शेर्पाहरुको जिम्मा लगाएको र त्यसबेलामा उनी आफैलाई पनि निकै कष्ट महसुस भएकोले तुरुन्तै तल झरेको बताएको छन् । त्यसैले उनलाई बेलायतकी महारानी एलिजाबेथ द्धिर्तियाबाट २०१८ जुन ९ मा प्रतिष्ठित एमबीई अर्थात मेम्वर अफ द अर्डर अफ द ब्रिटिश इम्पाएर अवार्डबाट विभुषित गरेका थिए ।

म्याग्दी र कास्की जिल्लाको साँधसिमामा रहेको अन्नपूर्ण प्रथम ८०९१ मिटरमा सन् १९५० जुन ३ मा फ्रेन्च इक्स्पिडिसन टिमको नेतृत्व गर्दै मौरिस हर्जोग र लुईस लाचेनल लगायत ९ जनाको समूहले पहिलो पटक विश्वको आठ हजार मिटर अग्ला हिमालको चुचुरो चुम्न सफलता हासिल गरेका थिए । म्याग्दी जिल्ला मै रहेको धौलागिरी प्रथम ८१६७ मिटर अग्लो हिमालमा सन् १९६० मे १३ मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहीहरुको समूहका टोली नेता कुर्त डेम्वर्गरको नेतृत्वमा उनी समेत ५ जनाको समूहले पहिलो पटक चुचुरोमा पाइला टेक्न सफल भएका थिए ।

त्यसपछि विभिन्न मिति र सिजनमा थुप्रै बिदेशीहरु, शेर्पाहरु र अन्य पर्वतारोहीहरु यी दुइ हिमालको शिखर चुम्न सफल भएका छन् । अन्नपूर्ण प्रथम हिमाललाई अन्यको दाँजोमा सबैभन्दा खतरनाक हिमालको रुपमा लिने गरिन्छ । त्यसैले यस हिमालमा अहिलेसम्म सबैभन्दा कम पर्वतारोहीहरुले मात्र आरोहण गरेका छन् भने आरोहणको क्रममा मृत्यु हुने आरोहीहरुको मृत्युदर पनि अन्यको तुलनामा धेरै नै रहेको छ ।

म्याग्दी जिल्लाका अन्य कोही व्यक्ति पनि यी दुई धौलागिरी प्रथम र अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको रेकर्ड थिएन । वि.सं. २०७१ जेष्ठ ४ तदनुसार सन् २०१४ मे १८ मा केवल १५ दिन भित्र धौलागिरी प्रथम आरोहण गरि पहिलो आठ हजार मिटर अग्लो हिमाल आरोहण गरेका उनी प्रोजेक्ट पोसिबल १४ः७ अन्र्तगत आठ हजार मिटर अग्ला हिमालहरु मध्ये अन्नपूर्ण प्रथम र धौलागिरी प्रथम यिनै निर्मल पुर्जाले धौलागिरी दोश्रो पटक गरी धौलागिरी प्रथममा बिना थप अक्सिजन सफल आरोहण सम्पन्न गरे पश्चात उनी नै म्याग्दीका आफ्नै जिल्लामा रहेको हिमाल आरोहण गर्ने प्रथम म्याग्देली कीर्तिमानी आरोही बनी इतिहास रच्न सफल भएका छन् ।

हुन त मिन बहादुर शेरचन पनि म्याग्दी जिल्लाकै भुरुङ्ग तातोपानीमा जन्मिएका सबै भन्दा बृद्ध उमेर ७६ बर्षमा सन् २००८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी बिश्व कीर्तिमान राख्ने आरोही हुन् । पछि उनको कीर्तिमान जापानी नागरिक युइचिरो मिउराले ८० बर्षको उमेरमा सन् २०१३ मे २३ तारिखमा भङ्ग गरि दिएका थिए ।

पछि सोही रन्कोले ८६ बर्षको उमेरमा पुःन सगरमाथा चढी सबैभन्दा बृद्ध उमेरमा सगरमाथा चढेको विश्व कीर्तिमान कायम गर्छु भनेर सगरमाथा चढ्न भनि जाँदै गर्दा बेस क्याम्प मै २०७४ बैशाख २३ गते तदनुसार २०१७ मे ६ तारिखमा उनको दुःखद निधन भयो । र, उनले पनि अन्नपूर्ण र धौलागिरी हिमाल चुमेका थिएनन् । यसैले निर्मल पुर्जा म्याग्दी जिल्लाका उज्वल नक्षत्र हुन् । हुन त उनको जन्मथलो मात्र म्याग्दी हो । उनको हुर्काइबढाई र शिक्षा चितवनको रामनगरमा भयो । उनको कर्मथलो ब्रिटिश आर्मी र अहिले पर्वतारोहणलाई बनाएका छन् । म्याग्दी जिल्ला यसै पनि लाहुरेको जिल्ला भनेर चिनिने गर्दछ ।

म्याग्दी हिमाली र उच्च पहाडी, पहाडी र समथर भूभाग अत्यन्त कम भएको जिल्ला हो । म्याग्दी जिल्ला वि.सं. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढी मगर जाति ३९.४६ प्रतिशतले बाहुल्य भएको जिल्ला हो । त्यसैले म्याग्दी जिल्लामा जन्मिएका मगर जाति भित्रैका भिक्टोरिया क्रस पाउने बेगका तुल बहादुर पुन (हाल स्वर्गिय), इन्टरनेटको सन्जाल गाउँगाउँ पु¥याउने र हाल आविष्कार केन्द्रका अवधारणाकर्ता नागीका महाबीर पुन, लोकसंगीतका सर्जक मराङका खड्ग गर्वुजा र अहिले विश्व कीर्तिमानधारी आरोही दानाका निर्मल पुर्जा स्वदेशका साथै विश्वभर परिचित हुन सफल भएका छन् ।

विश्वकै सुन्दर झरना मध्ये एक रुप्से छहरा र विश्वकै गहिरो अन्धगल्छी नजिकै भएको ठाउँमा जन्मिएका उनले संसारकै अग्ला हिमालहरु आरोहण गरी बिश्व कीर्तिमानी कायम गरे भनि उनी जन्मिएका गाउँ दानामा समेत खुशियाली छाएको छ ।
त्यसैले निर्मल पुर्जाले हासिल गरेको रेकर्ड विश्वकै पर्वतारोहणको क्षेत्रमा ठूलो उपलव्धि भएको विभिन्न आरोहीहरुले समेत बताएका छन् ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ छिरिङ्ग शेर्पाले यो रेकर्ड आरोहण क्षेत्रमा अहिलेसम्मकै उल्लेख्य भएको र निर्मलको यो उपलव्धि उनको मात्र नभई हामी सबै नेपाली र पर्वतारोहणमा लागेकाका लागि निकै महत्वपूर्ण र गौरवको कुरा हो भनि भनेका छन् । त्यस्तै आठ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पाले पुर्जाको कामले सम्पूर्ण नेपालीमा मात्र नभई पर्वतारोहणमा लागेका सबैलाई उत्साह प्रदान गरेको र यो सानोतिनो रेकर्ड होइन, तर इच्छाशक्ति भयो भने जस्तोसुकै उपलव्धि पनि हासिल गर्न सकिन्छ भनेर अन्य आरोहीहरुलाई यसले सन्देश दिएको छ भनि भनेका छन् ।

को हुन् निर्मल पुर्जा
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ दानामा वि.सं. २०४० (सन् १९८३) मा जन्मिएका भारतिय सेनाबाट हाल अवकास प्राप्त नन्द बहादुर र आमा पूर्ण कुमारी पुर्जाको कोखबाट चौंथों कान्छो छोराको रुपमा यस धर्तिमा पदार्पण गरेका उनी दुई बर्षको हुँदा चितवनको रामनगरमा उनको परिवार बसाईसराईं गरे पछि उनको बाल्यकाल उतै बिताई नारायणगढ स्थित स्मल हेभन बोर्डिङ्ग स्कूलबाट एसएलसी पास गरे ।

उनी सन् २००३ मा उनका जेठा दाजु गंगा पुर्जा र साईला दाजु कमल पुर्जाको पदचाप पछ्याउँदै ब्रिटिस आर्मीमा भर्ती हुन पुगेका थिए । उनका माइला दाजु जीत पुर्जा दाना स्थित ज्ञान प्रकाश माविमा शिक्षण पेशामा अहिले पनि कार्यरत रहेका छन् भने एक बहिनी अनिता पुर्जा अष्ट्रेलियामा डाक्टर छिन् । उनी सानै उमेर देखि नै अनुशासित, मिहिनेती र साहसिक कार्य गर्न रुची राख्ने स्वभाव भएको उनले एक अन्र्तवार्तामा भनेका छन् ।

स्कूल पढ्दा ताका नै ब्रिटिश आर्मीमा भर्ना हुन्छु भन्ने दृढ संकल्प लिएका उनले स्कूलको होष्टेलको विद्यार्थी जीवन काल मै बिहान ३ बजे नै उठेर १५ किलोमिटर जति दौडेर वार्डेनले थाहा नपाओस भनेर ६ बज्नु भन्दा अगाडि नै होष्टल फर्किएर फेरी सुत्ने गरेको बताएका छन् । उनले जुनसुकै काम थालनी गरे पछि सत प्रतिशत त्यसैमा फोकस गरी अनुशासित, दृढ निश्चियी, सकरात्मक सोंच, धैर्य र एकाग्रत भएर कार्य गर्दा सबै कुरा सम्भव हुने उनले व्यवहारिकता बाटै प्रमाणित गरेका छन् ।

परिवारले उनलाई राम्रो स्कूलमा अध्ययन गर्ने मौका दिलाई दिनु नै आफूलाई धन्य मानेका छन् । ब्रिटिश आर्मीमा आवद्ध भई सके पछि सन् २००९ मा ब्रिटिश स्पेशल फोर्स अन्र्तगत स्पेशल बोट सर्भिस (एसबीएस) मा पहिलो नेपाली गोर्खा सैनिकको रुपमा कार्यरत हुन पुगे । यसमा आबद्ध हुन अति नै कठिन र बौद्धिक स्तर अति नै तिक्ष्ण भएका आर्मीले मात्र ज्वाइन गर्न सक्छ भनेर उनका गुरुले भनेका कुरालाई मनन् गरी उनी त्यसमा सफल भएरै छाडे ।

सन् २०१२ मा पहिलो पटक लोबुचे हिमाल आरोहण गरी हिमाल र हिमाली क्षेत्रसंग नाता गास्न शुरु गरेका उनी युरोप र अमेरिकाका अग्ला तर नेपालको भन्दा साना र फुच्चे हिमालहरुका साथै नेपालका अन्य हिमालहरु पनि आरोहण गरि यथेष्ट अनुभव हासिल गरि सकेका थिए । ब्रिटिश आर्मीको एसबीएसमा कार्यरत रहँदा कठिन भन्दा पनि कठिन तालिम र प्रशिक्षण अझ त्यसमा पनि अत्यन्त चिसो मौसममा पनि लडाई लड्ने शीप हासिल गरेको हुँदा नै आफू शारिरीक र मानसिक रुपमा एकदमै फिट अर्थात तन्दुरुष्ट रहेको र यति छोटो समयमा यतिका हिमाल आरोहण गर्दा पनि आफूलाई थकान महसुस नभएको बताउने गरेका छन् ।

निम्स वा निम्सदाइबाट सामाजिक सञ्जालमा परिचित उनी अंग्रेजी भाषामा समेत राम्रो दख्खल राख्दछन् । लण्डनको लगबोरोघ युनिभर्सिटीबाट सुरक्षा व्यवस्थापनमा पोष्ट ग्राजुयत डिग्री समेत हासिल गरेका उनको श्रीमती सुची पुर्जा उतै बेलायत तिर बसोबास गर्दछन् भने आमाबुवा चितवनको रामनगरमा बसोबास गर्दछन् । हिमाल तिर नै बढी मोहित भइएकोले आफ्नो सन्तान बनाउनमा त्यती मोह जागृत नभएको समेत उनले बताउने गरेका छन् ।

राज्यको दायित्व र नेपाल भ्रमण बर्ष २०२० मा उनको भूमिका
राज्यले निर्मल पुर्जाले हासिल गरेको विश्वका आठहजार मिटर अग्ला १४ वटै हिमाल ६ महिना ६ दिनमा पूरा गरी हासिल गरेको बिश्व कीर्तिमान र पहिलेको तीन वटा कीर्तिमानलाई समेत हृदयंगम गरी उनलाई उचित मानसम्मान र नागरिक अभिनन्दन सहित नगद पुरस्कार वा हिमाल आरोहण गर्दा बुझाएको राजस्व फिर्ता वा अन्य भएको खर्च रकमलाई के कसरी भरथेग गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिनु जरुरी देखिन्छ ।

नेपाल भ्रमण बर्ष शुरु हुनु ठीक दुई महिना पहिले उनले यत्रो उपलव्धि हासिल गरी संसारभरका प्रतिष्ठित मिडियाहरुले सित्तैमा कभरेज गरे पछि हाम्रो मुलक नेपाल र हामी नेपालीको इज्जत र प्रतिष्ठा अझै बढाउनमा उनको यस योगदानलाई कम आँक्न कदापी मिल्दैन । त्यसकारण नेपाल सरकारले उनको यस उपलव्धिलाई पूर्ण रुपमा उपयोग गर्न सक्नु पर्दछ । यदि नेपाल भ्रमण बर्ष २०२० लाई साँच्चिकै सफल र बीस लाख पर्यटक भित्र््याउने लक्ष्य भेदन गर्ने हो भने त्यसको सम्मुख एक अति नै उत्तम सुनौला मौका आएको छ ।

नेपाल सरकारले विश्व कीर्तिमानधारी निर्मल पुर्जालाई पर्यटन सद्भावनादूत नियुक्त गरी विदेश स्थित कुटनीतिक नियोग र बाणिज्य दूतावासहरु रहेको ती देशका प्रमुख शहरहरुमा पु¥याई त्यँहा पनि उनको नागरिक सम्मानका साथ शहर बजार परिक्रमा र अन्य विविध कार्यक्रमहरु संचालन गर्न लगाई उनीबाट प्रबद्र्धनात्मक र प्रेरणादायक उद्गार र मन्तव्य व्यक्त गर्ने अवसर प्रदान गरी त्यहाँको प्रमुख मिडियाहरुमा समाचार, अन्र्तवार्ता लगायत अन्य प्रचारप्रसारको उचित व्यवस्थापन गरी हिमाल आरोहण र पर्यटन प्रवद्र्धनका बृत्तचित्रहरु प्रदर्शनीका साथै अन्य विविध प्रचारप्रसार सामाग्रीहरु मार्फत नेपाल भ्रमण बर्ष सफल बनाउन २०२० अवधिभर चाँजोपाँजो मिलाउनु पर्दछ ।

उनी अव सेलीब्रटी आरोही भई सकेको हुँदा उनलाई संसारभरका विभिन्न संघसंस्थाहरुबाट प्रेरणादायक मन्तव्य अर्थात मोटिभेसनल स्पीकरको रुपमा समेत आमन्त्रण आउन सक्छ । यसलाई उनले आफ्नो अनुभवहरु बताउनुका साथै नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रको प्रचारप्रसार र नेपाल भ्रमणको लागि प्रोत्साहित गर्न सक्दछन । अव उनले किताव लेखी विभिन्न भाषामा प्रकाशित गर्नु पर्दछ । साथै बृत्तचित्र पनि बनाउनु पर्दछ । उनले प्रोजेक्ट पोसिबल १४ः७ अभियान अन्तर्गत आठ हजार अग्ला हिमालहरु आरोहण गर्नुको मुख्य तीन वटा उद्देश्यहरु रहेको उल्लेख गरेका थिए ।

पहिलो मानवमा अन्तरनिहित मानविय क्षमताको उजागर, दोश्रो ग्लोबल वार्मिङ्गको कारण विश्व तापमानमा बृद्धि अथवा पर्यावरण परिवर्तनका कारण वातावरणमा गम्भीर असर सम्वन्धमा जनचेतना अभिबृद्धि र तेश्रो नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने भनेर पहिले नै उदघोष गरेका थिए ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायत आठ हजार मिटर अग्ला अन्य सात वटा हिमालहरु र अन्य अनगिन्ती हिमाल र चुचुराहरु नेपालमा रहेको हुँदा नेपाल संसारभर हिमाली राष्ट्रको रुपमा समेत प्रसिद्ध रहेको छ । अधिकाशँ पर्वतारोहीहरुको पहिलो प्राथमिकता नै एकपटक भए पनि सगरमाथा आरोहण गर्नु त कसैले विभिन्न कीर्तिमान कायम गर्नलाई भए पनि पटक पटक आरोहण गर्ने उद्देश्य राखेका हुन्छन् । अन्य हिमालहरुको तुलनामा सगरमाथाको आरोहण शुल्क ज्यादै बढी नै छ । तर पनि सगरमाथा प्रतिको आकर्षण अन्यको तुलनामा उच्च नै रहेको छ ।

त्यही भएर गत २०१९ को शरद ऋतुमा सगरमाथाको चुचुरोमा पुग्ने आरोहीहरुको शिखर भन्दा मुनी धुरीधुरी कति लामो लर्कन थियो भनेर उनै निर्मल पुर्जाले प्रोजेक्ट पोसिबल अभियान अन्र्तगत सगरमाथा आरोहणको क्रममा खिचेको सगरमाथामा समेत ट्राफिक जामको तस्वीर संसारभर नै भाइरल बनेको थियो । हुन पनि उक्त तस्वीर निकै आकर्षक र अचम्मित हुने खालको नै थियो । राज्यले बढी राजस्व संकलन हुने लोभमा सगरमाथा आरोहण गर्नेहरुलाई जथाभावी अनुमति दिनु हुँदैन ।

सबै पर्वतारोहीहरुको चाहना एक पटक सगरमाथा चढ्ने भएता पनि पहिले नेपालकै अन्य साना ठूला गरी कम्तीमा पाँच–सात वटा हिमाल आरोहण गरी सकेका अनुभवी आरोहीहरुलाई मात्र सगरमाथा आरोहण गर्ने अनुमति प्रदान गर्नु पर्दछ । सगरमाथा क्षेत्रमा विगत र अहिले पनि निकै फोहोर थुप्रिने गरेका विभिन्न संचारमाध्यमहरुले प्रसारण गर्ने गरेका र विगत केही बर्ष देखि सगरमाथा सफाई अभियान संचालन गरी संकलित पुःर्नप्रयोग हुने फाहोर काठमाण्डौसम्म ल्याएको थियो ।

हाल जो आरोहण गर्ने टोली हो उनीहरुले अव त्यहाँ फोहोर फाल्न नपाउने र त्यहाँ उत्पादन भएका फाहोर संकलन गरी आफैले व्यवस्थापन गर्नु पर्ने नीति अवलम्वन गरे पछि धेरै हदसम्म हिमालय क्षेत्र फोहोर हुने समस्याबाट मुक्त भएको मान्नु पर्दछ । अव केही समयसम्म सगरमाथालाई बिश्राम दिनु पर्छ भन्ने विभिन्न पर्यावरण सम्वन्धी बिज्ञहरुको भनाई पनि रहेका छन् ।

त्यसैले राज्यले पहिले नेपालका अन्य विभिन्न ठाउँमा रहेका साना ठूला हिमालहरु आरोहण गर्न प्रोत्साहित गर्नुका साथै बाध्यकारी नीति नियम बनाई कडाईको साथ पालना गर्ने गराउने र पछि मात्र सगरमाथा आरोहण गर्न पाउने त्यसमा पनि सिजन अनुसार कोटा तोकेर यति मात्र आरोहण गर्न पाउने थिति बसाउने हो भने अन्यत्र रहेका हिमालहरुको पनि चहलपहल बढ्ने र त्यस क्षेत्रका बासिन्दाहरुको सामाजिक, आर्थिक र व्याबसायिक क्रियाकलापमा समेत बढोत्तरी हुने थियो। विश्वका आठ हजार मिटर अग्ला १४ हिमालहरु मध्ये ८ वटा नेपालमा पर्दछन् भन्ने त सिद्ध नै भै सक्यो । त्यसभन्दा मुनीका हिमाल र चुचुराहरु पनि सयौंको संख्यामा रहेका छन् ।

नेपाल विश्वमै प्राकृतिक मनोरम छटा र विविध सामाजिक, साँस्कृतिक, धार्मिक सम्पदाले भरिपूर्ण एक अति नै सुन्दर देश भैकन पनि किन नेपाल भ्रमण गर्न अन्य देशको तुलनामा अति नै कम पर्यटकहरु आउँदछन् भनेर खोजीनीति हुनु पर्दछ ।

संसारका अन्य देशमा प्राकृतिक मनोरम दृश्यको तुलनामा मानव निर्मित संरचनाहरुको अवलोकन र भ्रमणको लागि लालायित हुने पर्यटकहरु नेपाल आफैमा एक सुन्दर प्रकृति प्रदत्त हिमालय सौन्दर्य, नदीनाला, तालतलैया, धार्मिक मठमन्दिर, जंगली जनवार, चराचुरुङ्गी आदि विविधताले भरिपूर्ण नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरु किन त्यति लालायित हुँदैनन् ? हामी भन्छौ नेपाल विश्चको सर्वोच्च शिखर सगरमाथा अर्थात माउण्ट एभरेष्ट रहेको र भगवान गौतम बुद्ध जन्मेको देश हो भन्छौ तर बिदेशमा बुझाई अर्कै छ । त्यसलाई हामीले चिर्न कतिको सफल भएका छौ त ?

हाल आएर बर्षमा १०–१२ लाख पर्यटकहरु मात्र भित्रिनु र भ्रमण बर्ष २०२० मा बीस लाख पर्यटन भित्र्याउने लक्ष्य राख्नुले नेपालमा पर्यटक आगमणको आँकडा कति दयनिय छ भनेर सहजै आँकलन गर्न सकिन्छ । अन्य मुलुकहरुमा करौंडौको संख्यामा पर्यटकहरुको ओइरो लाग्दा हाम्रो मुलुकमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राख्नु पनि आफैमा एक बिडम्वना नै मान्नु पर्दछ । विश्वका कतिपय मुलुकमा त्यस देशको जनसंख्या भन्दा पर्यटकहरु बढी भित्रिन्छन । नेपालमा भने कुल जनसंख्याको ५–७ प्रतिशत पर्यटक भित्र्याउनलाई पनि अनेक तिकडम अपनाउनु पर्ने हुन्छ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले पनि बिदेशमा बस्ने एक गैर आवासिय नेपालीले एक जना बिदेशीलाई नेपाल भ्रमणमा पठाऔं भन्ने अभियान संचालनको नारा घन्काएको छ । यदि यसो गर्न सकेमा हाल नेपालीहरु बिदेशमा पचास लाख भन्दा बढी बसोबास गर्दछन् त्यसको आधा मात्र पठाउन सक्यो भने पनि पच्चीस लाख पर्यटकहरु आउन सक्दछन् ।

पहिलो नेपाल भ्रमण बर्ष सन् १९९८ मा मनाइएको थियो त्यसबेलामा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । त्यसपछि सन् २०११ मा गरियो । सन् २०११ मा त्यति हल्लीखल्ली मच्चाउन सकेन । अव पालो २०२० को आएको छ । नेपाल भ्रमण बर्ष २०२० को परिकल्पनाकार पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा दुःखद निधन भए पश्चात वर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले सम्भालिरहेको बागडोरको सफलता वा असफलता भविष्यले नै बताउला ।

२०७६ कार्तिक २४, आइतबार (२०१९ नोभेम्वर १०)
कुलेश्वर, काठमाण्डौ