म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपालले पहिलो खेलमा अफगानिस्तान निरीह

नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाहीको कप्तानीमा भएको पहिलो खेलमा नेपालले विजय सुरुवात गरेको छ । एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ मा नेपालले विजयी सुरुआत गरेको हो ।

नेपालले आइतबार अफगानिस्तानविरुद्धको खेलमा ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। निरीह देखिएको अफागानिस्तानविरुद्धको पहिलो सेट २५–४ ले आफ्नो पक्षमा पारेको थियो। त्यस्तै दोस्रो सेट २५–९ तथा तेस्रो सेट २५–६ ले नेपालले आफ्नो पक्षमा र्पायो। रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तान तोकेपछि निकै मेहनतका साथ टोलीलाई मैदानमा उतारिएको थियो ।

दुई वर्षपछि पहिलो पटक प्रतियोगितामा उत्रिएको नेपाली टोलीको नेतृत्व गरेकी शाहीले पहिलो खेलमा अफगानिस्तान माथिको हावीले समेत नयाँ टोलीको प्रर्दशन उत्कृष्ट हुने अनुमान गरिएको छ । राउण्ड रोविन लिगअनुसार पहिलो चरणबाट शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीले सोमबार प्रमुख प्रतिस्पर्धी किर्गिस्तानको सामना गर्नेछ। लिगको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। अरुणाको कप्तानीमा रहेको टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन र सलिना श्रेष्ठ छन्। कमला पुन म्याग्दीको मालिका गाउँपालिका ३ रुमकी हुन् ।