युनिक सहकारीको अध्यक्षमा शर्मा

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । साधारणसभा तथा अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम), सचिवमा श्रीधर सुवेदी, कोषाध्यक्षमा हिराबहादुर बरुवाल र सहसचिवमा मन्जु बानियाँ निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा सोमनाथ अधिकारी, लोकेन्द्र जिसी, नकुल ढकाल, रवीन्द्र श्रेष्ठ, सोनामल्यामु गुरुङ र नारायण शर्मा रहेका छन् ।

लेखा समिति संयोजक अमृत पौडेल, सदस्यमा दिपेन्द्र शर्मा र सुमन शर्मा, शिक्षा उपसमिति संयोजकमा हरि सुवेदी र सदस्यमा रोहित ढुङ्गाना रहेका छन् । साधारणसभामा संस्थाका सचिव श्रीधर सुवेदी र निवर्तमान कोषाध्यक्ष ताराप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल १ हजार ७ सय ५९ जना शेयर सदस्यको शेयर पुँजी ७५ लाख ९४ हजार नौसय, तीन करोड १७ लाख ६१ हजार पाँचसय ४३ रुपैयाँ लगानी गरेको संस्थाले २५ लाख ६८ हजार सातसय नौ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सहकारीका ज्येष्ठ सदस्य नारायणदत्त सुवेदीले उद्घाटन गरेको साधारणसभा तथा अधिवेशनमा पूर्व अध्यक्षहरु हिरा केसी, भरतप्रसाद केसी र घनश्याम सापकोटालाई सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट बचतकर्ता हरिप्रसाद सुवेदी, जीवनबहादुर केसी, असल कारोबारतर्फ घनश्याम सापकोटा र असल ऋणी महेन्द्रबहादुर बानियाँ तथा भरतबहादुर रसाईलीलाई अबिर र खादा लगाई नगद एवं प्रमाणपत्रले सम्मान गरिएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष गोविन्द बानियाँको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिव श्रीधर सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्यद्वय सुरत केसी र लालबहादुर अधिकारीले मन्तव्य राखेका थिए ।