सकियो स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा

म्याग्दी जिल्लामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको वार्षिक समीक्षा सकिएको छ । सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आईपास नेपालको सहयोगमा बिहीबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा सुरक्षित गर्भपतन सेवाको सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पछिल्लो तथ्याङ्क अनुसार स्वास्थ्यका सूचकहरुको गुणस्तर घट्दो क्रममा रहेकाले यसलाई सबैले ध्यान दिन आवश्यक रहेको बताए । उनले म्याग्दीमा पुरुषहरुबाट महिलाहरु बढी पीडित भएको भन्दै जिल्ला प्रशासनमा निवेदनहरु धेरै आउने हुँदा स्थानीय तहले स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रजिअ ढकालले स्थानीय तहहरुले स्वास्थ्य, शिक्षाभन्दा पनि पूर्वाधार बनाउनेतर्फ बढी ध्यान दिइएको बताउँदै जिल्लाको अति संवेदनशील क्षेत्रमा स्थानीय प्रशासनको तर्फदेखि संयुक्त सुरक्षा गस्ती बढाइएको बताए । उनले लैङ्गिक हिंसा न्युनीकरण तथा सामाजिक बिकृति र विसङ्गति नियन्त्रण गर्न प्राथमिकता दिइएको बताएका छन् । सोही कार्यक्रममा बोल्दै रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

दुई दिनसम्म सञ्चालित समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्मा, आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवर, बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदी, बेनी नगरपालिकाका स्वास्थ्य संयोजक कुस्मराज पौडेल, मंगलाका बालकृष्ण पौडेल, अन्नपूर्णका समुन्द्र बरुवाल, रघुगंगाका सहसंयोजक शिव पाण्डे, मालिकाकी सन्तुकुमारी कार्की र धौलागिरीका लोकनाथ पौडेलले आ–आफ्नो पालिकाको स्वास्थ्यका गतिविधिहरु प्रस्तुत गरेका थिए । कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख प्रकाशराज शर्माको अध्यक्षता र तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।