विद्यार्थीले जानकारी पाए हरिबोधिनी पर्वको महत्व (फोटो फिचर)

पर्वतबेनीको न्यू होराइजन आवासीय माविमा कक्षा ७ मा अध्ययनरत सन्ध्या सापकोटालाई भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्वका बारेमा खासै जानकारी थिएन । नेपालीका ठूला पर्वका बारेमा जानकारी भएपनि सापकोटाले पहिलोपटक हरिबोधिनी एकादशीका बारेमा विद्यालयमा जानकारी पाईन् ।

सोही विद्यालयमा कक्षा ९ की रेजिना सुबेदीलाई पर्वका बारेमा सामान्य जानकारी भएपनि पर्वको बास्तविक महत्वका बारेमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जानकारी पाएको बताईन् । विद्यालयले किताबी ज्ञानको अतिरिक्त सामाजिक तथा धार्मिक पर्वका बारेमा समेत जानकारी गराउने उदेश्यले विश्व हिन्दु धर्मतत्व ज्ञान समिति अन्तरगत सञ्चालित गणेश मन्दिरसँग सहकार्य गरी आयोजित पूजामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पर्व तथा तुलसीको महत्वका बारेमा जानकारी गराइएको थियो ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर पूजा गरिएको तुलसीलाई विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा, भगवान् विष्णुको पूजा, आराधनाका साथै तुलसीको विवाह गर्ने चलनका बारेमा विद्यार्थीलाई जानकारी गराइएको पर्वत बेनीको गणेश मन्दिरका अध्यक्ष बलराम श्रेष्ठले बताए । उनका अनुसार समितिमार्फत विद्यार्थी सहितको सहभागिता कालिगण्डकीबाट फुलमाला सहितको तोरन समेत तार्ने काम भएको बताए ।

पूजाआजा सहित हरिबोधिनी एकादशी पर्वका बारेमा जिज्ञासा राख्ने विद्यार्थीलाई प्रष्ट पारिएको समितिका कोषाध्यक्ष नारायणदत्त सुबेदी, न्यू होराईजन आवासीय माविका हिराबहादुर जिसी, न्यू होराईजन आवासीय माविका अध्यक्ष दलबहादुर जिसी, प्रधानाध्यापक अर्जुन सुबेदीलगायत पर्वतबेनीबासीको सहभागिता रहेको थियो । सोही अवसरमा मन्दिरलाई करिव ७० हजार भेटी संकलन भएको हिराबहादुर जिसीले जानकारी दिए ।