पेन्सनको रकम कुहुँका दुई विद्यालयलाई सहयोग

यहाँको एक भारतीय सेनाबाट अवकाश प्राप्त ब्यक्तिले आफूले पेन्सनवापत प्राप्त परेको रकममध्ये २ लाखभन्दा बढी रकम दुई सामुदायिक विद्यालयलाई सहयोग गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ तातोापनीका समाजसेवी जमदार चन्द्रबहादुर र उनकी धर्मपत्नी हेमा सिञ्जालीले शुक्रबार मंगला गाउँपालिका वडा नं १ कुहुँस्थीत दिपशिखा मावि र पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविलाई शैक्षिक गतिविधिमा सघाउन पेन्सनबापतको २ लाख ७३५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

आफ्नै घरमा आयोजित कार्यक्रममा दिपशिखा माविलाई १ लाख ५० हजार ६३० र राष्ट्रिय जनजागृति माविलाई ५० हजार १०५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । भारतीय सेनाबाट अवकाशप्राप्त जमदार सिञ्जालीले पेन्सनबापतको रककमलाई विद्यालयमा सहयोग गर्न पाउँदा उत्साहित भएको बताएका थिए । ‘धेरै ठाउँमा सहयोग गरेको छु,‘पेन्सनलाई सामाजिक कार्यमा प्रयोग गर्न पाउँदा उत्साहित छु’ उनले भने ।

भारतीय सेनाबाट अवकाश लिएसँगै सिञ्जालीले अहिलेसम्म विभिन्न विद्यालय सहित विभिन्न सामाजिक संघसंस्थामा सहयोग गरेका थिए । उनले भारतीय सेनाको अवकाशप्राप्त जमदारको पेन्सनलाई श्रीमतिसँग सल्लाह गरी सहयोग गर्ने गरेको बताए। सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय जनजागृति माविका ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले सम्मानपत्रले सम्मान गदैं सहयोगलाई विद्यालयको शैक्षिक हितमा खर्च गर्ने बताए ।

त्यस्तै दिपशिखा माविका प्रधानध्यापाक डा. नन्दबहादुर खत्रीले आर्थिक सहयोगलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा सहयोग गर्ने बताएका थिए । कार्यक्रममा वडा सदस्य जितमान गौचन, राष्ट्रिय जनजागृति माविका प्रधानध्यापक टेकबहादुर राम्जाली, दिपशिखा माविका सहायक प्रअ हरिकृष्ण उपाध्याय,नविन भट्टराई, खविसरा सेरपुञ्जा र सम्झना जिसी लगाएतको उपस्थिती रहेको थियो । सहयोगदाता सिञ्जाली दम्पतीले यसअगाडी विभिन्न विद्यालय सहित सामाजिक संघसंस्थालाई समेत सहयोग गरेका थिए ।