सन्तान अमेरिकामा, हजुरआमा पशुपतिको वृद्धाश्रममा !

ठिक छ वर्षअगाडि इन्द्रकुमारी रिजालले आफ्ना ‘मालिक’ गुमाइन् । त्यसपछि उनको जीवनबाट हाँसो गुम्यो । जीवन उजाड भयो । त्यसपछि उनी पशुपतिनाथको शरणमा आइन् । अब बल्ल उनको ओठमा कहिलेकांही हाँसो देखिन थालेको छ । केही समयअघि पशुपतिनाथ मन्दिरको छेवैमा रहेको वृद्धाश्रम पुग्दा इन्द्र कुमारी विगतमा फर्केर टोलाइरहेकी थिइन् । उनको ब्लडप्रेसर जाँच गर्न आएका केही स्टाफ नर्स नजिकै थिए । तीनैमध्ये एकलाई इन्द्रकुमारीले सोधिन्, ‘नानी तिम्रो बिहे भयो ?’ कोठाभर हाँसो गुन्जियो ।

इन्द्रकुमारीले जवाफ पाइन्, ‘यति छिटो ?’ यो उत्तर इन्द्रकुमारीका लागि अर्को आश्चर्य थियो । उनको त ११ वर्षको उमेरमा विहे भएको थियो । त्यही विवाहले उनको जीवनमा अनेक मोड ल्याएको थियो ।  चितवनी इन्द्रकुमारीको चितवनमै विवाह भयो । ११ वर्षमा नै उनले घर सम्हाल्न थालिन् । अहिले ९५ वर्ष पुगेकी इन्द्रकुमारीले ती बेलाका कति कुरा त बिर्सिसकिन् । सम्झना छ त उनलाई, त्यो विगतले दिएको दुःखको छ । ‘जीवनमा सुरु देखि नै दुःख पाएँ,’ उनले भनिन् ।  त्यसपछि विगतमा फर्किइन् इन्द्रकुमारी ।

इन्द्रकुमारीकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन्, छोरी । तर, चार वर्ष पुग्दानपुग्दै उनको निधन भयो । पहिलो सन्तानको बिछोडलाई भुल्न त के सक्थिन्, इन्द्रकुमारीले दोस्रो सन्तान जन्माइन् । उनकी दोस्रो सन्तानका रुपमा पनि छोरी नै जन्मिएकी थिइन् । अफसोस ! उनी पनि लामो समय बाँच्न सकिनन् । त्यति बेला इन्द्रकुमारी १९ वर्षकी मात्र थिइन् । ‘लगातार दुई सन्तान गुमाएकी थिएँ बाबु, पीडा खप्नै सकिनँ,’ त्यो समय सम्झँदा अहिले पनि इन्द्रकुमारीको आँखा रसाउँछ, ‘म त बौलाही भएकी थिएँ ।’ दुई छोरी गुमाएपछि इन्द्रकुमारी पहिलो पटक काठमाडौं आइन्, पशुपतिमा लाख बत्ती बाल्न।

‘मेरा मालिकले यसमा सहमति जनाउनु भएको थियो, उहाँ निकै जाती हुनुहुन्थ्यो,’ इन्द्रकुमारीले श्रीमान्लाई सम्झिइन्, ‘मैले भनेको कुरामा कहिल्यै नाइँनास्ती गर्नुभएन ।’ तिनै मालिकलाई ६ महिनाअघि गुमाइन्, इन्द्रकुमारीले । त्यसपछि उनी आएकी हुन् पशुपतिको शरणमा । तर, यसबीचमा अनेक समस्याहरुसँग पैँठेजोरी खेल्नुपर्यो इन्द्रकुमारीले । सबैभन्दा पहिलो त्यो मुकाबिला आफ्नै परिवारसँग थियो । दुवै छोरी नबाँचेपछि उनकी सासुले छोरालाई बारम्बार दबाब दिइन्– अर्को विहे गर्नू । ‘हेर्नु बाबु, पशुपतिको शरणमा बसेर झुट बोल्नु हुँदैन,’ इन्द्रकुमारीले सम्झिइन्, ‘मेरा दुवै नानी गुमेपछि मेरी सासूले मलाई दैनिक सराप्थिन्, पापी भन्थिन् । मेरो मन दुख्थ्यो ।’ तर, यस्तो हुँदा पनि श्रीमान् र ससुराले इन्द्रकुमारीलाई साथ दिएकै थिए । तर, उनकी सासूआमाको अगाडि कसैको जोर चलेन । उनका श्रीमान्ले अर्को विवाह गरे ।

२०/२१ वर्षकी थिइन्, इन्द्रकुमारी । श्रीमान्ले आफूमाथि सौता हालेको उनको मनले निको मानेन । त्यति बेलासम्म श्रीमान्लाई भनेर घरमा सासूआमाको गाली सहेर बसेकी इन्द्रकुमारीले घर छोड्ने निर्णय गरिन् । ‘घरमा मेरो आफ्नो कोही छ जस्तो नै लागेन,’ इन्द्रकुमारी सुँक्क गरेको सुनियो, ‘सौतासँग बस्नु भन्दा घरै छाडेर हिँड्न ठीक होला भन्ने लाग्यो ।’ २१ वर्षमा इन्द्रकुमारी बनारस पुगिन् । बनारस जानका लागि उनले माइतीमा बासँग सल्लाह गरेकी थिइन् । ‘हिँड्ने बेला मैले संकल्प गरेकी थिएँ– त्यो घर कहिल्यै फर्किन्नँ,’ अहिले पनि इन्द्रकुमारी सम्झिन्छिन् ।

तर, सोचेजस्तो भएन । उनी बनारस पुगेकी मात्र के थिइन्, उनका ‘मालिक’ले बारम्बार चिठी पठाइरहे, फर्किएर आउन भनिरहे । तर, एक वर्षसम्म फर्किइनन् इन्द्रकुमारी । यता, चितवनबाट उनका श्रीमान्ले चिठी पठाउन छाडेनन् । दुई वर्षपछि चाहिँ इन्द्रकुमारीको मन पग्लियो । उनी त्यति बेला आफन्तकहाँ दार्जिलिङमा थिइन् । त्यहाँ पनि उनका श्रीमान्ले चिठी पठाइरहेका थिए । त्यसपछि इन्द्रकुमारी दार्जिलिङबाट फर्किएर नेपाल आइन् । जब उनी चितवनमा पुगिन्, उनलाई थाहा भयो, उनको श्रीमानकी कान्छी श्रीमतीको पनि उनकै जस्तो नियती भएछ । उनका पनि दुई सन्तान गुमेछन् । यो एक किसिमले परिवारमा पीडा थियो । तर, यही कारणले पहिले इन्द्रकुमारीलाई जति हेपिएको थियो, त्यसमा चाहिँ कमी आएको थियो ।

त्यसपछि आफ्ना श्रीमान् र सौतासँग मिलेर बसिन् इन्द्रकुमारी । विडम्बना ! त्यसपछि इन्द्रकुमारीको काखमा रहेनन् कुनै सन्तान । यसको अर्थ के होइन भने उनले सन्तानको माया र ममता नै पाइनन् । उनले त मालिककी कान्छीका छोरीहरुलाई आफ्नै जस्तो ठानिन्, आफ्नो जस्तै गरेर हुर्काइन् । उनले चार छोरी जन्माएकी थिइन् । अब त उनका छोरीहरुको पनि घर जमिसकेको छ । केही समयअघि मात्र इन्द्रकुमारी कान्छी छोरीको छोराको पास्नीमा पुगेकी थिइन् । ९४ वसन्त पार गरिसकेकी इन्द्रकुमारीले विगतका धेरै कुरा बिर्सिइसकेकी छिन् । जति सम्झनामा छन्, त्यसले उनलाई अब सुखमात्र दिइरहेका छन् । जस्तो कि, उनी श्रीमान्सँग भारत र नेपालका धेरै धार्मिक स्थलमा पुगेकी छिन् । ती ठाउँहरुबारे उनलाई अहिले पनि राम्रोसँग सम्झना छ।

‘मालिकको पनि सम्झना छ,’ उनले भनिन्, ‘उहाँसँग बिताएका क्षणहरु, घुमेका ठाउँहरुको सम्झना छ ।’ यी सब सम्झनाहरुलाई उनी दैनिक वृद्धाश्रममा रहेका अन्य वृद्धवृद्धाहरुसँग बाँडिरहेकी हुन्छिन् । अनि अधिकांश समय भजनकिर्तनमा नै दिन्छिन् । ‘अब त यहाँकै साथीहरु हामी एक अर्काका साहरा हौँ,’ उनले भनिन्, ‘आफ्नो जीवनका अनेक कुराहरु हामी बाँड्छौँ ।’ त्यसो त आफ्नै रहरले वृद्धाश्रममा बस्न थालेकी हुन् इन्द्रकुमारी । त्यसैले पनि बेलाबेला उनका छोरी तथा नातिनीहरु बारम्बार उनलाई भेट्न आइरहेका हुन्छन् । ‘अस्ती मात्रै पनि अमेरिकाबाट आएकी नातिनी मलाई भेट्न आएकी थिइ,’ उनले भनिन्, ‘छोरीहरु पनि भेट्न आउँछन्, आफ्नो घर जाम भन्छन् ।’ ‘किन उनीहरुको घरमा गएर म बोझ बनूँ ?’ इन्द्रकुमारीको प्रश्न छ ।
-फरकधारबाट साभार