अनेरास्ववियुले बेनीमा जलायो भारतीय नयाँ नक्सा

भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको भुमि समावेश गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी सङ्गठनले नक्सा जलाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले बुधबार साँझ सदरमुकाम बेनीमा विरोध सभाको आयोजना गरी भारतको नयाँ नक्सा जलाएको हो।

नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीमा आबद्ध विद्यार्थीको समूहले ‘गो व्याक इन्डिया’ लेखेको कालो व्यानरसहित विरोध गरेको जनाएका छन् । विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका जिल्ला नेता सुवास विश्वकर्माले भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भारतले तत्कालै नक्सा नसच्याए कालापानी र लिपुलेक पुगेर नेपालको झण्डा गाड्ने बताउँदै यसका लागि नेपाल सरकारलाई आवश्यक पहल गर्न माग गर्नुभयो ।

अनेरास्ववियुका अर्का नेता सुदिन पौडेलले भारतले पटकपटक नेपाली भुमिमाथि अतिक्रमण गर्दै आइरहेको बताउँदै नेपाली भुमिको रक्षाका लागि अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सबै नेपालीहरु एक भएर भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको नेपाली भुमिसहितको नक्सा सच्याउन लाग्नुपर्नेमा जोड दिनुभयो । विरोध कार्यक्रममा विद्यार्थीहरुले भारतको विरोध गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।

जिल्ला नेता सुवास विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गणेश सुवेदी र स्वागत ईश्वर सुवेदीले गरेका थिए । गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ । सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा समेत मागेका छन् ।