यसरी गरौं जाडोमा वृद्धवृद्धा र बालबालिकाको हेरचाह

जाडोमा अन्य समयको तुलनामा स्वास्थ्य समस्या धेरै देखिन्छन् । यसबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिला बढी प्रभावित हुने गरेका छन् ।वयस्कको तुलनामा बालबालिका र वृद्धवृद्धाको रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले सजिलै चिसो लाग्ने, रुघाखोकी, श्वासप्रश्वासको समस्या, निमोनिया हुने जोखिम रहन्छ ।

त्यसैले बालबालिका र वृद्धवृद्धालाई बिहान–बेलुकाको चिसोबाट बचाउनुपर्छ ।काठमाडौंको प्रदूषण, धुलो, धुवाँका कारणले श्वास–प्रश्वासमा समस्या देखिन्छ । खासगरी दमको रोगीमा जटिलता देखापर्छ ।  यस्तै, बच्चामा पनि रुघाखोकी, निमोनिया, टन्सिल, घाँटीको संक्रमण आदि विभिन्न समस्या देखिन्छन्।

यसरी बच्ने  
जाडोले बालबालिका र वृद्धवृद्धाको दिनचर्यालाई प्रभावित गरिरहेको हुन्छ । बाह्य वातावरणमा घुलमिल गराउन उनीहरूको उचित हेरचाह, स्याहार–सुसारका साथै खानपानमा पनि ध्यान दिनुपर्छ । न्यानो लुगा लगाइदिने, पोषिलो र तातो खानेकुरा खान दिने, झोलिलो खानेकुरा खुवाउने गर्नुपर्छ ।

शरीर पूरै ढाक्ने गरेर न्यानो लुगा लगाइदिनुपर्छ । घरमा बस्दा पनि तातो लुगा लगाएर राख्नुपर्छ ।  चिसो पानी खान दिनुहुँदैन । मनतातो बनाएर दिन सकिन्छ । खानेकुरा चिसो खानुहुँदैन । बच्चा र वृद्धवृद्धालाई दिउँसोको समयमा एक–दुई घन्टा घाममा राख्नुपर्छ । घामले भिटामिन डीको परिपूर्ति र शरीरलाई न्यानो बनाउन मद्दत गर्छ ।

बच्चालाई घाममा राखेर तोरीको तेल लसुन र मेथीसँग तर्तार मालिस गर्न सकिन्छ । तेल मालिसले बच्चाको प्रतिरोधी क्षमता बढाउन मद्दत पु-याउँछ ।

चिसोका कारण कतिपयले लामो समयसम्म नुहाउने गर्दैनन् । लामो समय ननुहाउँदा बालबालिका र वृद्धवृद्धामा छालामा समस्या देखिने, कपालमा चाया पर्ने आदि समस्या हुन्छन् । तसर्थ, उनीहरूलाई समय–समयमा पानी मनतातो बनाएर नुहाइदिनुपर्छ । लामो समयसम्म एउटै लुगा लगाइदिनुहुँदैन । रुघाखोकी वा सामान्य किसिमको स्वास्थ्य समस्या देखिनासाथ एन्टिबायोटिक औषधिको प्रयोग गरिहाल्नुहुँदैन । सामान्यतया स्वास्थ्यको उचित हेरचाह गर्दा दुई–तीन दिनमै रुघाखोकी आफैँ निको भएर जान्छ । एन्टिबायोटिक औषधिको धेरै प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ । सामान्य समस्या घरेलु उपचारबाटै निको हुन्छन् । नयाँ पत्रिकामा खबर छ ।