बेसहारा करिनाको जिसी दम्पत्तीद्वारा अभिभावकत्व ग्रहण

मंगला गाउँपालिका–२ सल्यानकी करिना कार्कीले आफ्नो बुबा रिमबहादुर कार्कीलाई गुमाएको दशक वित्यो । मृत्युलाई नजिकबाट चिन्ने उमेर नहुदै बेसहारा बनेकी करिना बालगृहमा बस्छिन् । २०६३ साल चैत्र १५ गते बुबाको मृत्यु भएपछि कष्टकर जीवन विताएकी कार्कीले बालगृहमा आउनुभन्दा अगाडीसम्म विहानबेलुकी पेटभरी समेत खान पाइनन् । अभिभावककै काखमै सुत्ने उमेरमा आमाको गर्भमै हुदाँ बुबालाई गुमाईन् । अपाङ् आमालाई क्यान्सर भएपछि साहरा समेत विस्तारै टुट्दै गयो ।

त्रिभुवन मंगला माविकी पूर्व प्रधानध्यापक उमादेवी पौडेलले अभिभावकै भूमिकामा करिनाको जिम्मा लिईन् । क्यान्सरबाट ग्रसित आमाको उपचारमा समेत निकै प्रयास गरेपनि असफल भएपछि पौडेलले घरमै राखेर करिनालाई कक्षा ३ सम्म गाउँमै अध्ययनको ब्यवस्था मिलाइन् । २०७२ साल असार १ गते पौडेलकै पहलमा बालगृहमा प्रवेश गरेकी कार्की अहिले कालिपुलको बालमन्दिरमा कक्षा ६ मा अध्ययरत छिन्।

भविस्यमा डाक्टर बन्ने चाहना रहेको कार्कीले बालगृहकै अनुशासित विद्यार्थीमा पर्छिन् । जन्मिएको घर र गाउँलाई विर्सिएर अभिभावक विहिन बस्ने बालगृहमा आएकी कार्कीको सपना एक दम्पत्तीले पुरा गरिदिने भएका छन् । बेनी नगरपालिका वडा नं ६ छापा स्थायी घरभई हाल यूकेमा बस्ने किसान जिसी र सुशन श्रेष्ठ जिसीले कार्कीको अभिभावकत्व ग्रहण गदैं कक्षा १२ सम्मको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको जिम्मा लिएका छन्।

कार्कीको चिकित्सक बन्ने चाहना पुरा गर्न बालगृहको ब्यवस्थापनले मात्रै प्रयाप्त नभएपछि आफ्नो तर्फबाट आगामी दिनमा सम्पूर्ण जिम्मा लिने किसान जिसीले बताए । ‘करिना डाक्टर भएको हेर्ने चाहना पुरा गर्ने मैले आफ्नो खर्च कटाएर भएपनि सहयोग गर्छु,‘अब करिना हाम्रो परिवारकी छोरी हुन्,‘खानाको छाक जोगाएर भएपनि उनको सपना पुरा गर्छु’ जिसीले भने।

उनले बालिकालाई आवश्यक पर्ने शैक्षिक साम्रागी, पोशाक, नियमित टिउसनको सुविधा सहित बेनीकै न्यू वेष्ट पोइन्ट आवासीय माविमा कक्षा ५ मा भर्ना गर्ने बताए ,। ‘मैले करिना डाक्टर भएको देख्न चाहन्छु,‘अब उनको नाममा धेरै सपनाहरू सजाएको छु’ जिसीले भने ।

उनले आफ्नो छोरी एशियाजस्तै करिनाको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताए । तिहारमा बालगृहका बालबालिकालाई लत्ताकपडा, भोजन, स्टेशनरी साम्रागी वितरण गर्ने क्रममा जिसीले करिनालाई भेटेका थिए । उनले तिहारमा बालगृहमा रहेका बालबािलका सहित कर्मचारीलाई समेतलाई गरी करिव २० हजारको सहयोग गरेका थिए ।

यूकेमा म्याग्देली सहित विभिन्न संघसंस्थामा आवद्ध रहेका जिसीले विपन्नको उपचार सहितका अभियानका सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नी स्वर्गीय बहिनी गंगा जिसीको सम्झनामा समेत शैक्षिक क्षेत्रमा सहयोग गर्ने गरी फाउण्डेशन मार्फत थप योजना बनाएको बताए । यता बाल संगठनका अध्यक्ष नेत्रबहादुर महतले करिनाको अभिभावकत्व ग्रहण गर्ने खवरले उत्साहित भएको बताए । उनले दाताको चाहना अनुसार उच्च शिक्षासम्मको वातावरण बनाउने बताए ।