टोड्केका दुई परिवारको कमाल, मुला बचेरै मालामाल (फोटो फिचर)

कसैलाई होच्याएर गाली गुर्नपर्यो भने ‘तँ मुला‘ भनेर भन्ने गरिन्छ । मुला शब्दलाई खासै राम्रो रुपमा प्रयोग गरिदैन । तर, म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुला नै टोड्केका पहिचान बनेका छन् भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुख्र्यौली पेसा नै मुला उत्पादन गरेर विक्रि गर्नु हो ।

वर्षौ पहिलेदेखि मुला खेती गर्दै खाएकी टोड्केकी तीजमाया पाइजाले मुला विक्रि गरेर नै वार्षिक एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुने बताइन् । पुनले भनिन् ‘हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला,आलु र फापतर हो । यही बेचेर वर्षभरीका लागि खर्च पुग्छ ।

करिब दुई रोपनी क्षेत्रफलमा मुला खेती गरेकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटकहरु मुला किन्नका लागि जाने गर्दछन् । पहिला पहिला म्याग्दी,बागलुङ र पर्वतका विभिन्न गाउँहरुबाट धान लिएर मुला साट्न मानिसहरु आउने गरेकामा पछिल्लो समय गाउँगाउँमा व्यवासायिक मौसमी वा वेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो विक्रि हुन छोडेको पाइजाको भनाइ रहेको छ । यहाँका एउटै मुला २ किलोदेखि ४÷५ किलोसम्मका हुने गर्दछन् ।

मुला किन्नका लागि बेनी नगरपालिका ६ बाट टोड्के आउनु भएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र आग्र्यानिक हुने भएकोले स्वास्थ्यको लागि पनि उपयोगि हुने बताए । दुई बोरा मुला (३० किलो) किनेर घर लैजानका लागि तयारी गर्दै गरेका पौडेलले सागको गुन्द्रक र मुलाको धजरा बनाएर हिउँदभरी खानका लागि मुला किन्न आएको बताए ।

रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन् । सेता मुलाको तुलनामा रातो मुला ग्राहाकहरुको रोजाइमा पर्ने पाइजाले बताइन । पहिलाको तुलनामा अहिले मुलाको विक्रि कम र उत्पादन बढि हुँदै गएको उनको भनाइ छ । विक्रि नभएर बचेका मुला काटेर धजरा बनाउने र हिउँदमा बजारमा लगेर धजरा विक्रि गर्ने गरेको उनले बताइन् ।