तीनगाउँले समाजले आगलागी पीडितलाई सहयोग

जिल्लाको मंगला गाउँपालिका–३ सिमकुनाका आगलागी पीडितलाई तीन गाउँले समाज यूकेले आर्थिक सहयोग उपलब्ध गराएको छ । आगलागीबाट धनमाल जलेर नष्ट भएको भिमबहादुर थापाको परिवारलाई एक कार्यक्रम गरी वडा अध्यक्ष कविन्द्र रोकामार्फत ५० हजार हस्तान्तरण गरेका हुन् ।

मंगला गाउँपालिको अर्मन, बरंजा र बेनी नगरपालिकाको भकिम्ली स्थायी घर भई हाल यूकेमा रहेकाहरुको साझा संस्था तीनगाउँले समाजका सचिव भक्त बहादुर रोकाको संयोजकत्वमा संकलन भएको सहयोग हस्तान्तरण गदैं वडा अध्यक्ष रोकाले सामाजिक तथा मानवीय कार्यमा तीनगाउँले समाजले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

भिमप्रसाद रोकाको घरमा बस्दै आएका थापाको अचानक घर जलेपछि घरभित्र भएका लत्ताकपडा, खाद्यान्न, केही नगद समेत जलेर नष्ट भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा पुन्यजन आधारभुत विद्यालयका प्रधानध्यापक नुर बहादुर खड्का, खड्क बहादुर रोका र धुव्र केसीको उपस्थिती रहेको स्थानीय यूवा खगेन्द्र फगामीले बताए । आगलागी पीडित थापाले सहयोगले राहत महशुस भएको बताए । एकदशक अगाडी स्थापना भएको संस्थामार्फत प्राकृतिक विपत्तीमा परेकालाई राहत हस्तान्तरण, शिक्षा, स्वास्थ्य लगाएत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरिएको छ ।