बेनीबजारमा जथाभावी भित्तामा पोष्टर टास्न रोक

बेनी नगरपालिका वडा नं ७ ले जथाभावी पोष्टर टास्ने र भित्तेलेखनमा कडाई गरेको छ । म्याग्दीको सदरमुकाम बेनीको प्रशासनीक क्षेत्र सहित चोक, हरेक गल्लीका भित्तामा पोष्टर, भर्ना तथा विभिन्न सुचनाहरू राखिदाँ बजार क्षेत्र कुरुप भएको भन्दै वडा कार्यालयले सूचना जारी गरी पोष्टर टाँस्न रोक लगाएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘सुचना टाँस्ने ठाउँ बनाइएको छ,‘अब मनपरी सूचनामुलक जानकारी टाँस्न पाइदैन्’ श्रेष्ठले भने ।

वडाभित्र पर्ने संगमचोक, बैंकरोड, बालमन्दिर चोक, बिरेन्द्रचोक, हुलाकचोक, पुस्तकालय चोक देखि मंगलाघाट लगाएत वडाभित्र पर्ने कुनैपनि स्थानमा निर्णय विपरित कार्य गरेमा तत्काल हटाउने वडा कार्यालयले जनाएको छ । विभिन्न संघसंस्था, विद्यालयको सूचनाका साथै चलचित्रका पोष्टर भित्तामा टास्नेलाई सचेत गराउने र अटेर गरे जरिवाना समेत तोक्ने बताइएको छ।

वडाले विभिन्न स्थानमा सार्वजनिक सूचना पाटी राखिएकाले त्यसमै प्रयोग गर्न अनुरोध गरिएको छ । वडामार्फत सुरू गरिएको अभियानलाई बजारबासीले समेत समर्थन गरेका छन् । एउटा प्रयोजनका लागि राखिएका सूचनाहरु महिनादिनसम्म सोही ठाउँमा राख्ने अवस्थालाई अन्त्य गर्ने समेत वडाको कदमले सहज भएको बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले बताए । उनका अनुसार बिरेन्द्रचोकमा फोहोर गर्ने, पोष्टर टास्न समेत टोलसुधार समितिले रोक लगाएको बताए । यसैबीच जथाभावी सडकमा राखिएका ठेलालाई समेत ब्यवस्थित गर्ने प्रयास सुरु भएको छ।