गरिमाले शिख गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण

ओछ्यानबाटै उठ्न मुस्किल हुने अन्नपूर्ण गाउँपालिका–५ शिखका नब्बे बर्ष पार गरेका पाँचजना बृद्धबृद्धाले घरदैलोमै गाउँमै सामाजिक सुरक्षा भत्ता पाए । भत्ता लिन सवारीसाधनमा आफन्तको सहयोगमा मुस्किलले पोखरेबगर पुग्नुपर्ने शिखकी ९१ बर्षिया पैतरा तिलिजाले गाउँमै भत्ता पाईन् । उनीसँगै ९९ बर्षिया चन्द्र बहादुर गर्बुजा, ९३ बर्षिय भुवन सिंह पुर्जा, ९२ बर्षिय कृष्णबहादुर पाईजा र ९२ बर्षकै भाईसिरी पाईजाले गाउँमै भत्ता पाएपछि आफ्नो ज्यानलाई सहज भएको बताए ।

‘बैंकसम्म पुगेर भत्ता ल्याउन हामीलाई प्राण गएजस्तै हुन्थ्यो,‘बैंकले पैसा बोकेर गाउँमै आएपछि सजिलो भएको छ’ बृद्धबृद्धाले भने । गरिमा विकास बैंकको पोखरेबगर शाखाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान अन्तरगत शिखको स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष दिनेशकुमार पुनले बृद्धबृद्धालाई गाउँमै भत्ता वितरण गर्ने वातावरण बनाउने बताए ।

‘गाउँमै आएर भत्ता वितरणको बातावरण बनाउँछौ,‘बैंकलाई सहज हुनेछ’ पुनले भने । उनका अनुसार बृद्धबृद्धालाई स्वास्थ्य, समय तथा विविध कारणले पोखरेबगर पुग्न समस्या हुने गरेको बताए । भत्ता वितरण गदै. गरिमा विकास बैंक पोखरेबगर शाखाका प्रबन्धक श्याम थापाले बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई मात्रै आधार नबनाएको बताउँदै सामाजिक उत्तरदाहित्व अन्तरगत बैकबाट दिने सेवालाई वडास्तरमै पुगेर समेत सेवाग्राहीलाई सहज बनाउने बताए ।

उनले सामाजिक उत्तरदाहित्व अन्तरगत बैंकले अन्य रचनात्मक कार्यहरुलाई समेत वडास्तरमा ल्याउने बताए । भत्ता वितरण कार्यक्रममा प्रहरी चौकी शिखघाराका प्रहरी सहायक निरिक्षक गोबद्धन दुराको नेतृत्वमा प्रहरीको टोली सहित बैंकका कर्मचारीको उपस्थिती रहेको थियो । शिखमा ११९ जनालाई १९ लाख ९७ हजार वितरण गरिएको थियो ।