मकै भण्डारणको सुरक्षित तरिका थाँक्रो (फोटो फिचर)

नेपालमा सुरक्षित खाद्य भण्डारणका लागि विभिन्न किसीमका उपायहरु अपनाइदै आएको पाइन्छ । कृषि प्राविधिक तथा वैज्ञानिकहरुले खाद्यान्लाई सुरक्षित राख्नका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै आएका छन् ।तर,नेपालका कैयौं ग्रामिण भेगका कृषकहरुसम्म आधुनिक कृषि प्रविधिको पहुँच पुगेको छैन ।

त्यस्तै गाउँ मध्येको एउटा गाउँ हो म्याग्दीको झीँ गाउँ । यहाँ आधुनिक कृषि प्रविधिको पहुँच अझैसम्म पनि पुग्न सकेको छैन । धान,मकै,कोदो र गहुँ तथा तरकारी बालीका लागि अनुकुल मानिएको यस गाउँमा अझैपनि कृषकहरुले परम्परागत शैलीमा नै कृषि उपजहरुको उत्पादन तथा भण्डारण गर्दै आएका छन् ।

बाँस वा निगालोको चोयाँबाट बुनेको भकारीमा गोवरले लिपेर धान भण्डारण गरिन्छ भने थाँक्रा बनाइ माथिबाट खर वा जस्तापाताले ढोकेर मकै भण्डारण गर्ने परम्परागत चलन यहाँ अझै कायम नै रहेको छ ।‘यो हाम्रो पुख्र्यौली चलन हो, मकैलाई रोग किराबाट बचाउने उपाय यो भन्दा हामीसंग अर्को छैन‘ झीँ की ६३ वर्षिया रनमायाँ शेरपुंजाले भनिन् । उनका अनुसार यसरी मकै राख्दा किरा लाग्दैन भने मकैको दानामा पनि कुनै किसीमको खराबी आउँदैन ।

झीँ गाउँ शितोष्ण हावापानी भएको रसिलो ठाउँ हो । अधिकाँश युवाहरु वैदेशिक रोजगारीमा गएका कारण यो गाउँ केवल पाको उमेरका बृद्धबृद्धाहरु र बालबालिका तथा नगण्य मात्रामा युवायुवतीले धानिएको छ । शहरमा वसाइ सराइ गर्ने मानिसहरु बढ्दै गएपछि यो गाउँ पनि रित्तिदै गएको स्थानीय मनबहादुर गुर्वजाले बताए ।यहाँको मकैको स्वाद विछट्टको मीठो हुन्छ । रातो र सेतो जातका मकै यहाँ राम्रो उत्पादन हुने स्थानीयले बताएका छन् । उत्पादन भएको मकैलाई थाँक्रो बनाएर सुरक्षित रुपले राख्ने गरिएको छ ।