टिम्मुर गाउँ असिनापानीले रित्तै

गतबर्ष ४० पाथी टिम्मुर घरबाटै बेचेका बेनी नगरपालिका वडा नं ९ तोरिपानीका सागर बानियाँले यसबर्ष मुस्किलले १० पाथी पनि सकलन भएन् । बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने बानियाँका १ सय १० बोटमध्ये अधिकांस रित्तै छन् । टिम्मुरको फुल खेल्ने र बटिला लाग्ने समय बैशाख देखि असार महिनामा अत्याधिक बर्षा हुनुका साथै भारी असिनाले टिम्बुरको बोटमा क्षती पुगेपछि टिम्मुर किसान निराश भएका छन् ।

तोरिपानीका अगुवा कृषक आनन्द रिजाल, नरबहादुर राई लगाएत गाउँका अगुवा टिमुर किसानहरूको बोटमा पात मात्रै भेटिन्छन् । गतबर्ष भन्दा करिव ९० प्रतिशत उत्पादनमा कमी आएको छ । फुल लाग्ने बेलामै असिनाले सखाप पारेको भुमेसिद्ध टिम्मुर सञ्जाल घतानका अध्यक्ष बानियाले भने । उनका अनुसार नयाँ फल लाग्ने समयमै अग्रिम भुक्तानी दिएरै बुकिङ गर्न स्वदेश तथा विदेशबाट समेत आउने गरेको अवस्थामा यसपटक बोटमा मुस्किलले टिम्मुर देख्न पाईने बताए ।

अन्य अन्नबाली छोडेर खेतबारी, घरआगन,निजी तथा सामुदायिक बनमा समेत टिम्मुर खेती गरेका तोरीपानी स्यानीखेत, नेप्टेचौर, ढावा गाउँका कृषकले चाडपर्वमा घरायसी खर्चको रुपमा समेत टिम्मुर बेचेर प्रयोग गर्ने गरेका थिए । ‘यसपटक असिनाले नभेटेका बोटमा केही भेटिन्छन्,‘त्यही संकलन गर्दा दुईचार पाथी हुन्छ’ नरबहादुर राईले भने ।

उनका अनुसार प्रतिकुल मौसमका कारण आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले घर खर्च चलाउन घर आसपासका क्षेत्रमा लगाएका दुईचार बोटमा आधा माना पनि टिम्बुर नभएको बताए । गाउँमा बार्षिक ५० हजार देखि २ लाखभन्दा माथि कमाउने किसानले यसपटक पछिल्ला केहीबर्ष यताकै निराशजनक उत्पादन भएको बताउँछन्। ‘असिनापानीले कृषकको मेहनत खेर गयो,‘आएको अडर समेत पु¥याउन सकिएन’ कृषकले भने । करिव १ सय ५० घरधुरीले टिम्मुर खेती गरेको छन्।

तोरिपानी आसपासका क्षेत्रका दलित समुदायले दशैंतिहारमा नयाँ लुगा, खाद्यान्न तथा छोराछोरीको पढाई, विरामी हुदाँ औषधी उपचारका लागि घर आसपासका खोल्सा, पाखो र बारीका कान्लामा टिम्बुर लगाएका थिए । म्याग्दीको टिम्बुर गाउँ समेत भनेर चिनिने तोरिपानीमा गतबर्ष करिव १५ मुरी टिम्मुर निकासी भएको थियो ।

यसबर्ष स्वदेश तथा विदेशमा गरी करिव ६० मुरी टिम्मुरको माग आएको छ। सानो लगानीमा मनग्य आम्दानी हुने टिम्मुरको बजार विस्तार भएसंगै गाउँमा खेर गएका जमिन,सामुदायिक बनमा समेत सामुहिक खेती गरिएको छ । स्वदेशी बजारमा प्रतिकेजी १७ सय रुपैयाँमा विक्री हुने टिम्मुर विदेशमा आर्कषक मुल्य पाइन्छ । गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि मुल्यमा बार्गेनिङ गर्न विभिन्न जिल्लाबाट ब्यापारी नै गाउँमा समेत पुग्ने गरेका छन् ।

करिब आधादशक अगाडी देविभक्त रिजालको एउटै बोटबाट १८ केजी टिम्मुर बेचेर ३० हजार आम्दानी गरेपछि गाउँलेले प्रमुख आम्दानीको माध्यम टिम्मुर बनाउने गरी खेती विस्तार गरेका छन् । उपभोक्ता समुहले टिम्मुर सुकाउने, प्रसोधन, तौलने, मसला बनाउने औजारको प्रयोग गर्ने गरेको अवस्थामा असिनापानीले क्षती पुगेपछि अन्य जिल्लाबाट समेत टिम्बुर खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेको अगुवा कृषकको भनाई छ ।

गाउँमै नर्सरी भएकाले बिरुवा समेत बिक्री गर्ने गरिएको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदीक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि अन्य जिल्लाको तुलनामा म्याग्दीको टिम्मुको बजारमा धेरै माग छ । समुन्द्री सतह देखी १५ सय देखी २२ सय मिटर उचाईसम्म टिम्मुरको ब्यवसायीक खेती गर्न सकिन्छ । जिल्लाभर बार्षिक करिव ३५ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।