तोरिपानीमा टिम्मुर उत्पादन ९० प्रतिशतले घट्यो

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा यस वर्ष टिम्मुर उत्पादनमा विगतका वर्षहरुको तुलनामा ९० प्रतिशतले कमी आएको छ । बोटमा पाकेर टिप्ने बेलामा असोज तेस्रो साता परेको असिनाले झारेपछि टिम्मुर गाउँमा नै बिऊको समेत अनिकाल भएको भुमेसिद्ध टिम्मुर संजाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताउनुभयो।

अध्यक्ष बानियाँका अनुसार २०७२ सालमा ७१ मुरी टिम्मुर उत्पादन भएको तोरीपानीमा गतवर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात भएको थियो । यस वर्ष विऊ समेत नरहेकोले वाहिरबाट विऊ ल्याउनु पर्ने अवस्था भएको छ ।
आधा दशक अगाडीसम्म कौडीको मुल्यमा विक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्याधिक माग हुन थालेपछि तोरीपानीका कृषक टिम्मुर खेतीमा आर्कषित भएका थिए ।

OLYMPUS DIGITAL CAMERA

प्रतिमापाथि १ हजार ८ सयदेखि २ हजार ३ सय सम्ममा विक्रिहुने टिम्मुर बेचेर गाउँमा वार्षिक ५० लाख भन्दा बढि भित्रिने गरेकोमा यस वर्ष भने यहाँका किसानले टिम्मुर विक्रिवाट हुने आम्दानी गुमाएका छन् ।खेतबारी, सामुदायिक बनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा विक्री गरेर कमाई हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुर खेतीमा अहिले गाउँका १ सय ५० घरधुरी सक्रिय रहेको अध्यक्ष बानियाँले बताउनुभयो ।

विक्रिका लागि कुनै समस्या छैन, ग्रहाकहरु टिम्मुर खोज्दै घरदैलोमै आउँछन्।विदेशबाट समेत माग आउन थालेपछि प्रमुख आम्दानीको स्रोत बनाएका छौं,बानियाँले भन्नुभयो ।तोरीपानीलाई नेपालमा धेरै टिम्बुर उत्पादन गर्ने गाउँ बनाउने अभियान समेत शुरु भएको बानियाँले बताउनुभयो । कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा विरुवा वितरण गरिएको उहाँको भनाइ छ ।

गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाण्डौ लगाएत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ । गाउँमा १९ वटा समुह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ । सामुदायिक बनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्री गर्ने गरेका छन् ।

दलित र एकल महिलालाई सामुदायिक बनमा फलेका टिम्मुर टिप्न छुट दिइएको उहाँले बताउनुभयो । गाउँमा गुमानसिंह बानियाँ र सागर बानियाँले नर्सरी समेत स्थापना गरी बार्षिक ५ हजारको हाराहारीमा विरूवा समेत विक्री गर्ने गरेका छन् ।
वन डिभिजन कार्यालय,म्याग्दी उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रति विरूवा विक्री हुने गरेको छ ।

‘विरुवा खरिद गर्न नर्सरीमा आउँछन् । टिम्मुरलाई सुनको अण्डा जस्तै मानेर फलाईरहेका थियौं, स्थानीय गुमानसिंह बानियाँले भन्नुभयो ‘तर यस वर्ष असिनाले सखाप पारिदियो । किसानले टिम्मुरको एउटै बोटबाट उत्पादन भएको १८ किलो टिम्मुर बेचेर रु ३० हजार एउटै बाटबाट कमाएका उहाँले जानकारी दिनुभयो ।

रोजगारको सिलसिलामा बाहिर भएका र लामो समय देखी बाँझो खेतबारीलाई समेत भाडामा लिएर यूवाहरू टिम्मुर खेतीमा सक्रिय हुन थालेका छन् । एउटा बोटबाट ४ हजारदेखि ३० हजारसम्म आम्दानी हुन थालेपछि अन्य खेतीबालीलाई समेत छोडेर प्राविधिक तालिम लिई यहाँका कृषकहरु टिम्मुरखेतीमा लागेका छन् । टिम्मुरका विज्ञ एवम् म्याग्दीका वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार म्याग्दी जिल्लामा टिम्मुरको सम्भावना अत्यधिक रहेको छ । त्यसमा पनि मध्य म्याग्दीको भूगोल टिम्मुर उत्पादनका लागि उपयुक्त रहेको छ ।

सापकोटाले बेनी नगरपालिका र पाँचवटा गाउँपालिका अन्र्तरगत पर्ने साविकको २० वटा गाविसमा टिम्मुर खेतीको सम्भावना रहेको बताउनुभयो । ‘यूरोपका धेरै देशमा म्याग्दीको टिम्मुर पुगेको छ । अन्र्तराष्ट्रिय बजारमा टिम्मुर को माग धेरै छ, उहाँले भन्नुभयो ।जिल्लाभर बार्षिक करिव ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको सापकोटाको भनाई छ ।

विऊ समेत रहेन
म्याग्दीको तोरीपानी भनेपछि देशै भरी टिम्मुर र टिम्मुरका विरुवा पाइने ठाउँ भनेर चिनिन्थ्यो । यहाँबाट देशका विभिन्न जिल्लामा टिम्मुरका विरुवा निर्यात हुने गरेको थियो । सागर वानियाँ र गुमान सिंह वानियाँको नर्सरीबाट मात्रै वार्षिक ५ हजार भन्दा बढि विरुवा विभिन्न जिल्लाहरुमा र त्यत्तिकै मात्रामा जिल्लाका विभिन्न गाउँहरुमा विक्रि हुने गरेकोमा यस वर्ष भने आफूले नै लगाउने विरुवा उत्पादन गर्नका लागि समेत विऊ नरहेको अध्यक्ष वानियाँले बताउनुभयो ।

क्षतिपूर्तिको माग

खेतवारीमा अन्न लगाउन छोडी टिम्मुर खेती गरेका तोरीपानीका कृषकहरुले आम्दानीको प्रमख स्रोत नै असिनाले नष्ट गरिदिएपछि सम्वन्धित निकायसंग क्षतिपूर्तिको माग गरेका छन् ।

गाउँका प्रायः सबै कृषकले टिम्मुर खेतीलाई प्राथमिकता दिई धान गहुँ फल्ने खेतका गह्रामा समेत टिम्मुर खेती गरेपनि यस वर्ष भित्राउने समयमा असिनाले सखाप पारिदिए पछि सरकारसंग क्षति पूर्तिको माग गरेका हुन् ।‘हामीले निकै दुःख गरेर सम्वन्धित निकायको सल्लाहा अनुसार टिम्मुर खेती गर्र्यौ, फल्न पनि राम्रै फलेको थियो, अध्यक्ष बानियाँले भन्नभयो ‘तर,प्राकृतिक प्रकोप आइपर्यो,हामी उचित क्षतिपूर्तिको पर्खाइमा छौं ।