बेलढुङ्गाको विकासमा भकिम्ली र धम्जाको प्रतिष्पर्धा

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ । बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका ३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ धम्जा विच बेलढुङ्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको छ ।

समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला,म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य,साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु,बनजङ्गल,जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

त्यसका साथै यहाँबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु,बाघ,भालु,चितुवा लगाएतका बन्यजन्तु,डाँफे,मुनाल,बनकुखुरो लगाएतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका भकिम्ली स्थित स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

चारैतिर घना जंगल,जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुङ्गा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले बताउनुभयो ।
उहाँका अनुसार बेलढुङ्कामा पूर्वाधार निर्माण र विकासका लागि दुई जिल्लाका दुईवटै वडाको समान योगदान रहेको छ ।

‘हामीले बेलढुङ्गाको तल्लोपट्टि करिव २ सय मिटरको दुरीमा रहेको बेसी चौतारीसम्म मोटरबाटो पुर्यायौं भने भकिम्लीका वडाअध्यक्ष पदम पुन ज्यूले स्वर्गाश्रमसम्म मोटरबाटो र त्यहाँदेखि माथि पदमार्ग निर्माण गर्नुभयो, धम्जाका वडाअध्यक्ष श्रीषले भन्नुभयो ‘वाँकी रहेका भौतिक पूर्वाधारको निर्माणमा पनि दुई जिल्लाका दुवै वडाको समान सहभागिता र समान स्वामित्व रहने छ ।‘

बेलढुङ्गा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुङ्गा नजिकै रहेको १२ वर्षसम्म स्वर्गाश्रममा ध्यान र आध्यात्मिक चिन्तन गरेर वस्नुभएकी तपस्वीनि ईश्वरानन्द सरस्वतिले बताउनुभयो । ‘नाम सुनेको थिएँ,तर यति आनन्द आउने ठाउँ होला भनेर कल्पना पनि गरेको थिएन, पहिलोपटक बागलुङको लामेलाबाट बेलढुङ्गामा आएका दीपक घर्तीले भन्नुभयो ‘यहाँबाट हिमाल,पहाड,गाउँवस्ती,बनजंगल, नदी झरना,बजार,वनस्पति,वन्यजन्तु र सूर्योदय तथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्द सकिने रहेछ ।

बेसी चौतारीदेखि बेलढुङ्गाको शिरसम्म पदमार्ग
एकवर्ष अघिसम्म बेलढुङ्गाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुङ्गाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहज भएको बेलढुङ्गामा हरेक वर्ष पुग्ने गरेका म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो ।

म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनी नगरपालिका वडा नं ३ को करिव ४ लाख र त्यहाँदेखि बेलढुङ्गासम्म दुवै वडाको २÷२लाख रुपैयाँको गरी करिव ८ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्न सकिन्छ ।

भ्यूटावर बनाउने योजना
हुन त अग्ला अग्ला पहाडहरु आँफैमा प्राकृतिक भ्यूटावर हुन् । त्यहाँसम्म पुग्न सक्ने हो भने दृश्यावलोकनका लागि कुनै अन्य माध्यमको आवश्यकता पर्दैन । तैपनि आनन्दले वसेर प्राकृतिक सौन्दर्यको रसस्वादन गर्नका लागि दुवै वडाले संयुक्त लगानीमा बेलढुङ्गाको शिखरमा भ्यूटावर निर्माण गर्ने योजना बनाएका छन् ।

‘बेलढुङ्गामा आउने पर्यटकहरुले सुविस्ताले बसेर दृश्यावलोकन गर्नका लागि भ्यूटावरको चाहना राखेका छन्, काठेखोला ३ धम्जाका वडाअध्यक्ष श्रीषले भन्नुभयो ‘पर्यटकहरुको चाहनालाई मध्यनजर गर्दै भ्यूटावर निर्माण गर्ने योजना बनाएका हौं ।
श्रीषको भनाइसंग बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुन पनि सहमत हुनुहुन्छ । नगरपालिकाले वडालाई सीमित बजेट दिनेहुँदा हामीले पर्यटन विकासमा धेरै लगानी गर्न सकेका छैनौं, उहाँले भन्नुभयो ‘तैपनि आगामी आर्थिक वर्षमा अरु क्षेत्रमा कटौति गरेर भएपनि पर्यटन विकासको क्षेत्रमा केही बढी काम गर्ने छौं ।‘

सौहार्दतापूर्ण सम्वन्ध

साँध सीमानाको विषयलाई लिएर दाजुभाइ,छरछिमेकीदेखि लिएर वल्लो गाउँ र पल्लो गाउँ,एउटा जिल्ला र अर्को जिल्ला अनि एक देश र अर्को देशका बीचमा विवाद,झगडा र युद्ध समेत हुने गरेका प्रशस्तै उदाहरणहरु छन् । तर,म्याग्दी र बागलुङ जिल्लाको साँधमा रहेको महत्वपूर्ण पर्यटकीय स्थल बेलढुङ्गाको विषयमा भने दुवै जिल्लाका दुईवटै वडावासीका विचमा सौहार्दपूर्ण सम्वन्ध रहेको छ ।

दुवै वडाले समान योगदान दिने र त्यसको प्रतिफल पनि समानरुपमा लिने दुवै जिल्लाका दुईवटै वडाका वासिन्दा र जनप्रतिनिधिविच सम्झौता भएको छ । वडाअध्यक्ष पुन भन्नुहुन्छ ‘सीमाको विषयलाई लिएर हामीहरु (दुई वडाका प्रतिनिधि) विच कहिल्यै पनि कुनै किसिमको विवाद भएन । प्रकृतिको अनुपम उपहार यस्ता सम्पदाहरुबाट सवैले लाभ लिनुपर्छ भन्ने हाम्रो मान्यता रहेकोले दुवै वडा मिलेर यसको विकासमा लागेका हौं ।‘