पर्यटकको पर्खाइमा नारच्याङ ताल

अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ। तालमा हिमालको छायाँ हेर्न सकिन्छ। धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। वरपर सुक्खा र उजाड पहाड छ।   अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए।

समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ। अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन।

हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताउँछन्। ‘ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए’ उनी भन्छन्,‘यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन।’

भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ। प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन। न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताउँछन्।   ‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्’ उनले भने,‘ ‘यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ।’

परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए। पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ।ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ। चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन्।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलोपटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो। यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो।

यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो। निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे। नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ।

आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन्।

पदमार्ग पर्यटक हिँड्नलाई अझै योग्य भइसकेको छैन। स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ। ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।तालको गहिराइको मापन हुनसकेको छैन। तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउँछन्। रासस