भेडापालनमा बाजेदेखि नातिसम्म

बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्यौली पेशा भेडापालन हो। बाजेको पालादेखि शुरू गरेको भेडापालन नातिको पुस्तासम्म आइपुग्दा व्यवसायिक रूप लिइसकेको छ। बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ।

४४ वर्षिय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउँदै आएको बताए। विकले आफ्ना ५२ ओटा भेडालाई विहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ३२ वर्ष भयो।

१२ वर्षको उमेरदेखि भेडा चराउने पेसा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउँछन्। त्यस्तै विकसँगै भेडा चराउन म्याग्दीको जंगलमा आएका बागलुङका वुद्धराम  मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासंगै जंगलमा नै विताएका छन्। ‘बालापन र बैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ ओटा भेडालाई खेद्दै ओरालो झर्दै गरेका मगरले भने ‘जापान पनि यहि हजुर कोरिया नि यही।‘ ठट्यौलो स्वभावका बिक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन्।

अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिने भन्दा फरक छ। विक भन्छन्  ‘एउटा  भेडाको मूल्य ५ हजारदेखि ५० हजारसम्म पर्छ । वर्षमा ५/७ लाख रुपैयाँ कमाइ हुन्छ।‘  मगरले पनि भेडा बिक्री गरेर वर्षमा ५ लाख भन्दा बढि कमाउने गरेको बताए। मासिक सरदर ५० हजार कमाइ भएपछि बिक र मगरलाई गाउँको भेडिगोठ र जंगलको चरनमा नै रस बसेको छ।

मगर भन्छन् ‘अमेरिका अष्टेलिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै। सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुवी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो। आफनो नजिकको जंगल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ रहेको छ।

‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौं, मगरले भने ‘सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो,हामीलाई त वन खुला गर्दिए हुन्थ्यो। बिक र मगरजस्तै धम्जामा ९ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन्। उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव।