ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

एजेन्सी। बेलायतमा एउटा ट्रकभित्र मृत अवस्थामा भेटिएका ३९ जनामध्येकी एक भियतनामी युवतीले मृत्युअघि आफू ट्रकभित्र निसास्सिएको भन्दै आफ्नी आमालाई सन्देश पठाएको पाइएको छ । रिपोर्टका अनुसार उनले सुख खोज्नको लागि आफ्नो विदेश यात्रा दर्दनाक तरिकाले अन्त्य हुन लागेको भन्दै आमासँग माफी मागेकी छिन् । ‘मलाई माफ गरिदिनुस् आमा, मेरो विदेश यात्रा सफल हुन सकेन’ फाम थी ट्रा मीले मंगलबार बेलुका साढे १० बजे पठाएको म्यासेजमा उल्लेख भएको बेलायती मिडिया मिररले लेखेको छ ।

‘आमा म तपाइँ र बाबालाई धेरै माया गर्छु । म मर्दैछु किनकि मैले सास फेर्न सकिरहेकी छैन’ उनले लेखेकी छिन् । सुरुवाती अनुसन्धानमा अत्याधिक चिसो कन्टेनरमा मारिएका ३१ पुरुष र ८ महिला सबै चिनियाँ नागरिक भएको मानिएको थियो तर उनीहरु अन्य देशका समेत भएको खुलेको हो । मीको शोकाकुल परिवारले त्यो अन्तिम म्यासेजपछि मीसँग कुनै सम्पर्क नभएको जनाएको छ ।

समाचार एजेन्सीहरुले मीलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन् । मीले मानव तस्करहरुलाई बेलायत पुग्न ३० हजार पाउन्ड तिरेको परिवारका सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् । मीको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो । बेल्जियमबाट प्रस्थान गरेपछि उनले मेसेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृत हुनसक्ने परिवारको आशंका छ ।

मीको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लागेकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए । प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।

निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो । बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ ।