चाउचाउको बढि प्रयोगले बालबालिकामा गम्भीर स्वास्थ्य समस्याः विज्ञहरु

सस्तोमा पाइने धेरै आधुनिक खानामध्ये तयारी चाउचाउ पर्छ। यसमा हुने कम पोषणले लाखौं बालबालिका प्रभावित बनेका छन्। दक्षिण एसियाली चाउचाउ खाने बालबालिकामा कम पोषण भई बढी मोटो र बढी दुब्लो हुने गरेको विज्ञले जनाएका छन्।

एसियाली मुलुक फिलिपिन्स, मलेसिया र इन्डोनेसियामा आर्थिक तथा जीवनस्तरमा वृद्धि भएको छ। दैनिक व्यस्त कार्यतालिकाका कारण उनीहरूमा बच्चाका लागि राम्रो खाना व्यवस्थापन गर्ने समय छैन। यी तीनवटा राष्ट्रमा औसत ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा कुपोषण भएको तथ्यांकले औंल्याएको छ। जुन अन्य देशको तुलनामा उच्चदर मानिन्छ। मंगलबार सार्वजनिक भएको युनिसेफको प्रतिवेदन अनुसार प्रत्येक तीन बालबालिकामध्ये एकजनामा कुपोषण देखिएको छ।

‘अविभावकहरू बच्चाको पेट भरिनुलाई महत्वपूर्ण कुरा ठान्छन्। उनीहरू यी खानेकुरामा पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम र फाइबर छ कि छैन ध्यान दिँदैनन्,’ इन्डोनेसियाका जनस्वास्थ्यविज्ञ हजबुल्ला थबर्निलेले एफपीलाई भने। युनिसेफले यसको बच्चामा असर पहिलाको पछौटेपन र भावी गरिबीको संकेत हुने जनाएको छ। बच्चामा आइरनको कमीले सिक्ने तथा अघि बढ्ने क्षमतामा कमी आउँछ भने महिलामा बच्चा जन्माएपछि मृत्यु हुने जोखिम बढ्छ।  इन्डोनेसियामा २४ लाख ४ हजार, फिलिपिन्समा ११ लाख र मलेसियामा २६ लाख पाँच वर्षमुनिका बालबालिका रहेको युनिसेफको तथ्यांक छ।

युनिसेफ एसिया पोषण विशेषज्ञ म्युने म्युटुंगाले भनिन्, ‘परिवारले परम्परागत खानातिर फर्काउनु आवश्यक रहेको छ, जुन खाना आधुनिक खानाको तुलनामा तयारी गर्न सजिलो र पहुँचमा हुने प्रकारका छन्।’ चाउचाउ सजिलो, सस्तो र छिटो हुनाले यसले सजिलै सन्तुलित खानाको स्थान लिएको छ। यसको पछि गरिबी मुख्य कुरा हो। ‘चाउचाउ २३ अमेरिकन सेन्टमा मनिलामा खरिद गर्न सकिन्छ, जुन कम पैसामा कम पोषण, आइरन र प्रोटिन भएको खाना हो। जसमा बढी मात्रामा तेल र नुनको मात्रा हुन्छ,’ म्युटुंगाले थपिन्।

इन्डोनेसिया चीनपछि विश्वमै बढी चाउचाउ खपत गर्ने दोस्रो देश हो। विश्व चाउचाउ संघका अनुसार सन् २०१८ मा १२.५ अर्ब मानिसले चाउचाउ प्रयोग गरेका थिए। तथ्यांकमा बढी खपत गर्ने देशहरू भारत तथा जापानलाई पनि समावेश गरिएको छ।

गाउँका मानिस सहरमा जागिर खोज्न हिँड्ने क्रममा पोषणयुक्त खाना अन्डा, तरकारी, माछामासु आदि खानाबाट विस्थापित हुँदै गरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकको मापनअनुसार मलेसिया, फिलिपिन्स र इन्डोनेसिया मध्य आय भएका देश हुन् र ती देश पर्याप्त पैसा आर्जनका लागि संघर्ष गरिरहेका छन्।

‘गरिबी मुख्य विषय हो,’ मलेसियाका जनस्वास्थ्यविज्ञ टी जयावालनले भने, ‘जुन घरमा आमाबाबु दुवै काममा जान्छन्, उनीहरूले छिटो खाना बनाउँछन्। मलेसियाका निम्न आय भएका परिवार चाउचाउ, आलु तथा यस्ता उत्पादन उनीहरूको मुख्य खाना हुन्।’

विज्ञका अनुसार चिनी भएका खाना बिस्कुट, वेभरेज तथा फास्टफुड समस्या समाधान गर्ने मुख्य स्रोत हुन्। चाउचाउले दैनिकी चलेका देशका सरकारले उनीहरूको स्वास्थ्य पक्षप्रति गम्भीर हुनुपर्ने उनीहरूले औंल्याएका छन्।  ‘यसका लागि स्वस्थ खानाको प्रवर्धन तथा जानकारी तीव्र रूपमा दिन आवश्यक छ,’ इन्डोनेसियाका जनस्वास्थ्य विज्ञ थाबे्रनीले भने। ‘त्यहाँ चाउचाउको अति वितरण छ, यतिसम्म कि दुर्गममा समेत सजिलै पाइन्छ।’ nagariknews.com